

सुर्खेत । कर्मचारी सञ्चय कोषले सुर्खेतका विभिन्न क्षेत्रमा झण्डै एक अर्ब रुपैयाँ लगानी गरेको छ । कोषको सुर्खेत शाखाले आर्थिक वर्ष २०८२/८३ मा ९८ करोड ३ लाख २४ हजार रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको हो ।
सुर्खेत शाखाका सूचना अधिकारी (उपप्रबन्धक) राजेन्द्रविक्रम केसीले गत आर्थिक वर्षमा ९१ हजार ६ सय ८ जनालाई ६३ करोड १० लाख ९० हजार रुपैयाँ विशेष सापटी कर्जा प्रवाह गरिएको जानकारी दिए । उनले ९ हजार १ सय २८ जनाले घर निर्माण, घर मर्मत, जग्गा तथा घर खरीद लगायतका सापटीको प्रवाह गरिएको बताए ।
उनका गत आर्थिक वर्षमा सुर्खेत शाखाबाट १ हजार ७ सय ३७ जनाले वित्तीय सेवा उपभोग गरेका छन् । ‘कोषले सञ्चयकर्ता वा पति/पत्नीका नाममा रहेको जग्गा र उक्त जग्गामा रहेको घरसमेत धितो राखी घर निर्माण गर्न, घर खरिद गर्न वा तल्ला थप गर्ने वा घर मर्मत गर्ने प्रयोजनका लागि एक करोड ५० लाखसम्म सापटी प्रदान गर्ने गरेको छ,’ उनले भने, ‘जग्गा खरीदको लागि अधिकतम एक करोड, घर मर्मतका लागि ५० लाखसम्म सापटी पाइने व्यवस्था रहेको छ । घर समेत धितो रहने भएमा कम्तीमा आठ फिटको बाटो र जग्गा मात्र धितो रहने भएमा बाह्र फिटको बाटो भएको कम्तीमा पाँच धुर क्षेत्रफलको जग्गा हुनुपर्ने प्रावधान छ ।’

उनले शाखा कार्यालयबाट सञ्चयकर्ताको सामाजिक आवश्यकता पूरा गर्न विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल सापटी लगायतका सापटी प्रदान गर्दै आइरहेको बताए । उनका अनुसार गत आर्थिक वर्षमा ९ हजार १ सय २९ जनालाई घर तथा जग्गाको धितोमा आधारित सापटीतर्फ ३४ करोड ९२ लाख ३३ हजार रुपैयाँ लगानी गरिएको छ ।
सामाजिक सुरक्षा सुविधातर्फ सञ्चयकर्ताले योगदान गर्नु नपर्ने गरी शाखाले औषधोपचार सुविधा, किरियाखर्च र शिशु तथा प्रसूति स्याहार जस्ता सामाजिक सुरक्षा सुविधा समेत प्रदान गर्दै आइरहेको शाखा कार्यालयका प्रमुख डिल्लीप्रसाद अधिकारीले जनाए । उनले यसै अवधिमा सामाजिक सुरक्षा खर्च बापत १ हजार २ सय ३८ जना सञ्चयकर्तालाई ९९ लाख ७२ हजार रुपैया समेत प्रवाह गरिएको जनाए ।
उनका अनुसार सुत्केरी तथा शिशु हेरचाह खर्च भुक्तानी तर्फ एक हजार दुई सय ४ जनालाई ९० लाख ३० हजार रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै काज क्रिया अनुदान भुक्तानीतर्फ १९ जनालाई ७ लाख ६० हजार रुपैयाँ प्रदान गरिएको छ । उनले विशेष आर्थिक सुविधा भुक्तानीतर्फ ४ जनालाई ६ लाख रुपैयाँ प्रदान गरिएको छ भने स्वास्थ्य उपचार सुविधातर्फ ९० जनालाई स्वास्थ्य उपचार दावी फारम दर्ता गरी शोधभर्ना भुक्तानी दिइएको जानकारी दिए ।
उनका अनुसार कोषले सूचीकृत अस्पतालमा भर्ना भई उपचार गराएका सञ्चयकर्ता र उनीहरुको दम्पती (पति वा पत्नी) का लागि साधारण रोग उपचारमा एक आर्थिक वर्षमा अधिकतम् १ लाख रुपैयाँसम्म र घातक रोग उपचारमा सेवा अवधिभर अधिकतम १० लाख रुपैयाँ सम्म शोधभर्ना दिने गरेको छ ।











