

काठमाडौं । नेपाली कांग्रेसको १५ महाधिवेशनमा पदाधिकारीलगायत विभिन्न पदमा उम्मेदवारी दिएकाको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको प्रथम नामावली सार्वजनिक गरेको हो । सभापति एक, वरिष्ठ उपसभापति एकसहित चार उपसभापति, महामन्त्री तीन, सहमहामन्त्री १५, कोषाध्यक्ष एक गरी २४ जना पदाधिकारी हुने व्यवस्था गरिएको छ । सहमहामन्त्रीमा चार जना र कोषाध्यक्ष एक जना सभापतिले मनोनित गर्ने व्यवस्था छ ।
त्यसअनुसार निर्वाचित हुने पदाधिकारी सङ्ख्या १९ जनाको हुनेछ । निर्वाचन समितिले सार्वजनिक गरेको सूचीअनुसार १९ जना पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ ।

पार्टी सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ । सभापति पदमा वर्तमान सभापति गगन थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठोर र पूर्वक्षेत्रीय सभापति श्यामकृष्ण खड्गीको उम्मेदवारी परेको छ ।
यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापति ९दुई पदका लागि० गोविन्द भट्टराई, डा चन्द्रकान्त भण्डारी, प्रा डा चन्द्रमोहन यादव, दीपक गिरी, देवराज चालिसे, धनराज गुरुङ, मधु आचार्य, डा मिनेन्द्रप्रसाद रिजाल र सुरेन्द्रराज पाण्डेको उम्मेदवारी परेको छ ।
त्यसैगरी, केन्द्रीय सदस्यमा पनि उल्लेख्य मात्रामा उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । प्रथम नामावलीमा कुनै दाबीविरोध रहेमा प्रक्रियासम्मत दाबी विरोधका लागि आज बिहान १०ः०० देखि १२ः०० बजेसम्मका लागि समय तोकिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।











