२०८३ असोज २४ , शनिबार
Sky News Nepal
October 10, 2026

चाडपर्व लक्षित बजार अनुगमन तीव्र बनाउँदै खाद्य प्रविधि कार्यालय



सुर्खेत । चाडपर्व नजिकिँदै जाँदा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले विभिन्न स्थानमा बजार अनुगमनलाई तीव्र दिएको छ ।

बजारमा उपभोक्ताको चाप बढ्न थालेपछि अखाद्य वस्तुको मिसावट र ठगीबाट जोगाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बजार अनुगमन तीव्र बनाएको हो । खाद्य पदार्थको गुणस्तर, सरसफाइ तथा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै खाद्य प्रविधि कार्यालयले बजार अनुगमनलाई निरन्तरता दिएको छ ।

चाडपर्वमा अनुचित व्यापारिक क्रियाकलाप, कालोबजारी तथा अखाद्य वस्तुको बिक्रीवितरण रोक्न कार्यलयले नियमित बजार अनुगमन तथा निरीक्षण सुरु गरेको जनाएको छ । शनिबार कार्यालयले जिल्ला सदरमुकाम वीरेन्द्रनगरका ६ वटा होटल, रेस्टुरेन्टका साथै खाद्य उद्योगहरुको अनुगमन तथा निरीक्षण गरेको हो ।

अनुगमनका क्रमका खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम पालन गर्नुपर्ने दायित्वहरु पालना गरि व्यवसाय तथा उत्पादन गर्न निर्देशन दिइएको कार्यालयका प्रमुख श्रीराम न्यौपानेले बताए । उनले होटल, रेस्टुरेन्टका साथै खाद्य उद्योगहरुले पर्याप्त सरसफाई नभएको, बासी सडेगलेका खाद्य वस्तुहरु विक्री गर्ने गरेको गुनासो आएपछि गहन अनुगमन शुरु गरिएको जनाए ।

‘चाडवाड लक्षित बजार अनुगमनको एक सकारात्मक र महत्त्वपूर्ण कदम भएको हाम्रो बुझाई छ,’ उनले भने, ‘उपभोक्ताको स्वास्थ्य सुरक्षा र खाद्य स्वच्छता कायम राख्न यस्ता अनुगमनहरु निकै प्रभावकारी देखिएका छन् । हामी निरन्तर उपभोक्ताको अधिकार सुरक्षित गर्न प्रयत्नशील छौं ।’

खाद्य प्रविधि कार्यालयका सूचना अधिकारी सन्तोष दाहालले चाडपर्व अनुगमनको मुख्य ध्येय व्यापारीलाई अनावश्यक दुःख दिने नभई स्वच्छ र गुणस्तरीय वस्तु उपलब्ध गराउन दववा दिनु रहेको बताए ।  चाडपर्वका बेला म्याद नाघेका, कम गुणस्तरका र अखाद्य वस्तु बिक्री–वितरण हुने सम्भावना बढी हुने भएकाले जिल्लाका विभिन्न स्थानमा अनुगमन टोली सक्रिय पारिएको उनको भनाइ छ ।

‘बजार अनुगमनको उद्देश्य व्यवसायीलाई दुःख दिने वा कारबाही गर्ने मात्र नभई खाद्य पदार्थको गुणस्तर कायम गराउने, उपभोक्तालाई सुरक्षित खाद्य वस्तु उपलब्ध गराउनु र व्यवसायीलाई आवश्यक मापदण्डबारे जानकारी गराउनु पनि हो,’ उनले भने, ‘सामान्य कमजोरी देखिएका स्थानमा सुधारका लागि सचेत गराउने र गम्भीर प्रकृतिका समस्या देखिएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने छ ।’

उनले अनुगमनका क्रममा व्यवसायी तथा सम्बन्धित पक्षलाई खाद्य सामग्रीको गुणस्तर कायम राख्न, म्याद गुज्रेका तथा गुणस्तरहीन सामग्री बिक्री नगर्न, खाद्य पदार्थ सुरक्षित रुपमा भण्डारण गर्न तथा बिक्रीस्थल र भान्सा क्षेत्रको सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको जानकारी दिए ।

चाडपर्व नजिकिँदै जाँदा बजारमा खाद्य तथा दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले त्यसैको फाइदा उठाउँदै मूल्य वृद्धि, कृत्रिम अभाव, कालोबजारी तथा गुणस्तरहीन खाद्य सामग्रीको बिक्री हुनसक्ने अवस्थालाई ध्यानमा राखेर अनुगमनलाई थप प्रभावकारी बनाउन सबै निकायको समन्वय तथा सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८३ असोज २४ गते शनिबार
Translate »