२०८३ असोज २२ , बिहीबार
Sky News Nepal
October 9, 2026

एमालेको स्थानीय तहका कमिटीको अधिवेशन मिति तय



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले पार्टीका स्थानीय तहका कमिटीअन्तर्गतका अधिवेशनको मिति तय गरेको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटीको प्रथम बैठकले वडा कमिटीको अधिवेशन आगामी मङ्सिर २६ गते र पालिका कमिटीको अधिवेशन पुस ४ गते गर्ने निर्णय गरेको हो ।

विहीबारको बैठकको प्रारम्भमा केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पार्टीको वरिष्ठ नेतामा मनोनीत भएकी विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् ।

बैठकले आगामी मङ्सिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । उनका अनुसार भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र विभिन्न तहका जनप्रतिनिधिको सहभागिता रहनेछ ।

स्थानीय तहका वडा र पालिका अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय पनि बैठकले गरेको आचार्यले जानकारी दिए । यसैगरी, बैठकले पार्टीका १३ जिल्लामा रिक्त जिल्ला अध्यक्षको पद जिल्ला तहकै निर्णयबाट पूर्ति गरी सम्बन्धित सङ्गठन कमिटीमा रुपान्तरण गर्ने र त्यसलाई माथिल्लो कमिटीबाट अनुमोदनका लागि पठाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०८३ असोज २२ गते बिहीबार
Translate »