

सुर्खेत । लागुपदार्थ सेवन गरी सवारी चलाउने ३ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, करवगार्डमा गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवनगरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भे १ च २३५० नम्वरको जिप चालक जिल्ला जाजरकोट नलगाड नगरपालिका–१२, का २२ वर्षिय धिरेन्द्र बस्नेत, लु.प्र.०३–००१ च ००६८ नम्वरको जिप चालक जिल्ला बर्दिया बारबर्दिया नगरपालिका–८, वर्षिय २२ अनोज चौधरी र बा ५४ प ६४६३ नम्वरको मोटरसाइकल चालक जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका–६, त्रिबेणीका २५ वर्षिय नबिन बुढाथोकी रहेका छन् ।
१७ जना सवारी चालकहरुको गरिएको लापसे चेकिङमा ३ जना चालकले लागु पदार्थ सेवन गरेको पाइएको प्रहरीको भनाइ छ ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल, डोल्पा प्रहरी प्रमुख अनिलराज गिरी, सशस्त्र प्रहरी बल गुल्म नं. ४६ का सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोद राय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त सुरक्षा टोलीले जिल्ला स्वास्थ्य सेवा कार्यालयको सहयोगमा सवारी चालकहरुको लागु पदार्थ सेवनको परीक्षण गरेको हो ।
पक्राउ परेका तिनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाईएको छ । त्यहाँ कानुन बमोजिमको कारवाहीको प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ ।
हिजोआज भेरी करिडोर हुँदै डोल्पा जिल्लामा सवारी साधनद्वारा आवतजावत गर्ने यात्रु महानुभावहरुको चार्डपर्व लक्षित सुरक्षालाई दृष्टिगत गर्दै सवारी साधनका चालकहरुको लागु पदार्थ सेवनको परीक्षण कार्यक्रमलाई निरन्तरता दिइरहेको प्रहरीको भनाइ छ ।











