२०८३ असोज १७ , शनिबार
Sky News Nepal
October 3, 2026

प्रदेश सरकारमा भइरहेको राजनीतिक सहकार्यलाई स्थानीय निर्वाचनसम्म विस्तार गर्न प्रचण्डको आग्रह



बनेपा (काभ्रे) । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश सरकारमा भइरहेको राजनीतिक सहकार्यलाई स्थानीय निर्वाचनसम्म विस्तार गर्नुपर्ने बताएका छन् ।

धुलिखेलमा शनिबार आयोजित एकता बैठक तथा शपथ ग्रहण समारोहमा उनले प्रदेश सरकारको सहकार्यलाई सरकार सञ्चालनमा मात्र सीमित नराखी राजनीतिक तथा वैचारिक रूपमा थप सुदृढ गर्नुपर्नेमा जोड दिए ।

‘यो सहकार्यलाई प्रदेश सरकारमा मात्रै होइन, आउने दिनमा सदनभित्रको बहसमा र निर्वाचनसम्म सुदृढ गर्दै लैजानुपर्ने हुन्छ,’ उनले भने । उनले बदलिँदो राजनीतिक परिस्थितिअनुसार सङ्गठन विस्तारलाई प्राथमिकता दिनुपर्ने बताए । सूचना प्रविधिको प्रयोगमार्फत पार्टीको विचार र सङ्गठन विस्तार गर्न सकिने उल्लेख गर्दै उनले उपलब्ध जनशक्ति, सङ्गठन र क्षमताको प्रभावकारी उपयोग गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

सो अवसरमा उनले कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकासले रोजगारी, मानवीय सोच र सिर्जनशीलतामा पार्नसक्ने प्रभावबारे पनि चर्चा गरे । एआईमा अत्यधिक निर्भर हुँदा मानिसको अध्ययन तथा सोच्ने अभ्यास कमजोर हुनसक्ने र प्रविधिका कारण श्रमिक विस्थापित हुने अवस्था आउनसक्ने उनले बताए ।

विश्वका विभिन्न मुलुकले एआईबाट उत्पन्न हुनसक्ने चुनौती सम्बोधन गर्न नीति तथा कार्यक्रम अघि बढाइरहेको उल्लेख गर्दै उनले नेपालमा पनि प्रविधिको विकाससँगै त्यसका सामाजिक प्रभावबारे गम्भीरतापूर्वक सोच्नुपर्ने बताए ।

संयोजक दाहालले विद्यमान राजनीतिक परिस्थितिबाट निरास नभई अनुशासित र धैर्यतापूर्वक सङ्गठन निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई आह्वान गरे । रासस

प्रकाशित मिति : २०८३ असोज १७ गते शनिबार
Translate »