

सुर्खेत । जय नेपाल पार्टीका सभापति डा. धवलशमशेर राणाले आर्थिक विकाससँगै युवाहरुका लागि रोजगारीका अवसर सिर्जना नगरेसम्म नागरिकको दैनिकीमा सुधार नआउने बताएका छन् ।
आज सुर्खेतको वीरेन्द्रनगरमा जय नेपाल पार्टी सुर्खेत जिल्ला कमिटी गठन भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा आर्थिक समुन्नति र विकास नभएसम्म जनताको दैनिकीमा तात्विक सुधार नहुने बताएका हुन् । सभापति राणाले देशमा नयाँ वैकल्पिक राजनीतिक शक्तिको रुपमा जय नेपाल पार्टीलाई स्थापित गराउन अहिले आफुहरु देशव्यापी पार्र्टी संगठन निर्माण अभियान जुटेको जानकारी दिए ।
देशको विद्यमान राजनीतिक अवस्थालाई चिर्दै राष्ट्रवादी र सनातन हिन्दू राष्ट्रको एजेन्डा बोकेर अघि बढेको यस दललाई देशको सच्चा वैकल्पिक राजनीतिक शक्तिको रुपमा बुझ्न र सहयोग गर्न जनता र कार्यकर्ताहरुलाई उनले आग्रह गरे । पुराना दलहरुको विकल्प खोजिरहेका आम नेपाली जनतालाई यस पार्टीको एजेन्डा र अभियानमा गोलबद्ध हुन समेत उनले अपिल गरे ।

यसैवीच जय नेपाल पार्टीको भेलाले सुर्खेत जिल्लामा सभापतिमा आन्नद चपाईलाई चयन गरेको छ । चपाईको अध्यक्षतामा भेलाले २७ सदस्यीय तदर्थ जिल्ला कार्यसमिति गठन गरेको हो ।
कार्यसमितिको उपसभापतिमा (महिला) अन्जु बस्याल र (पुरुष) मानबहादुर खरेल, सह–सचिव ईन्द्रकुमारी विसीलाई चयन गरेको छ । त्यस्तै वीरेन्द्रनगर नगर कमिटीको संयोजकमा कुलविक्रम शाहलाई चयन गरेको छ ।
पार्टीका अनुसार आउँदो कार्यसमिति बैठकबाट रिक्त सचिव र कोषाध्यक्ष पद परिपूर्ति गरिने छ ।












