

गुठबन्दिबिनाका दलै नजन्मने यो देशाँ काँग्रेसका दुईगुठ हुँदासम्म त को कुन गुठ र को कुन गुठ भन्ने त था हुन्थ्यो कि ! तर ,ऐले जब गगनले पाटि कब्जा हान्दे त्यसपछि त को कुन गुठ को ,को कुन गुठ को चिन्नै गाह्रो भै गो के । पैला देउबा गुठ र कोईराला गुठ भनेर बुझिरा बेलाँ एक्कासी जेनजीको हावा लागेर गगन गुठ जन्मेछि कोईराला गुठ र देउबा गुठका को कतालाए चिन्नै पनि गाह्रो के ! सोध्न भएन उल्टै झपाराई खाईएला भन्ने डर ! अनि गुठ चिन्ने अबसर भन्या यै चुनाब त हो ।
चुनाबका बेलाँ नि कार्यकर्तालाई भोटहाल्न देर बाईराट हेर्ने मान्छेले नि सजिलै गुठ चिन्न दे पो हुन्थ्यो ! सर्वसम्मतिका नाममा आफू मात्रै ठालु बनेर तँ बस् अनि तँ उठ गर्देछि काँट हुँदो के ! ऐलेको चुनाबाँ विग्रेकै सर्बसम्मति गराउन खोज्दाहो ।
खासमा ऐले गगन को पाटिले महाधिवेशन गर्न लाएछि चुनाबका बेलाँ सुर्खेत २ मा चल्या रण संग्राम हेर्दा यति कुरा भा हुन र यति लेख्न पर्या हो नत्र काँग्रेसका बार्याँ खोजिनिति गरेर हिँडने फूर्सद कल्लाई छ के ! असोजको लाग्दै यानेकि ४ गते नै सक्किनु पर्ने चुनाब सुर्खेतका २ नं क्षेत्रका अरु पालिका र नगराँ त सर्वसम्मतिका नाममा नेताहरले आफ्ना मान्छेलाई ल्याउन अरुलाई अमिलो निचोरे जसरी निचोरेर ल्याए र हाल्या दरखास्तनि रगतका आँसु प्याएर झिक्न लाए ।
सजिलालाई नाना नौटङ्कि गरेर दरखास्त झिक्न लाएनि वीरेन्द्रनगर ३ को प्रतिनिधि विवादका कारण कसैगरि चुनाब गराउन नसकेछि त्यल्लाई थाँति राखेर महाधिवेसन प्रतिनिधि छान्न २ नम्बरको क्षेत्रीय सदर मुकाम बाबियाचौराँ तँछाड मछाड गर्दै पुगेका नेता तथा कार्यकर्ताको गुठबन्दिले कुनै परिणाम ल्याउन सकेन ।
चुनाब अनिश्चित हुँदै गर्दा गोडा आठेक दिनपछिको निरन्तरको निस्तो भातखाई सकेछि बल्लतल्ल अरु सब्बै प्रतिनिधिको चुनाब महाधिवेशन पछि गरेनि महाधिवेशन प्रतिनिधिको चुनाब गरेर महाधिबेसनाँ ठ्याउसे ठालु बन्न जाने कुराँ सुर्खेत काँग्रेसका तिन्टै टाउके तयार भएनि शुक्रबारसम्म चुनाब हुने निष्कर्षाँ पुग्न सक्याछैन ।
यद्यपि केन्द्रीय प्रतिनिधिले ३ नम्बरवालाहरुसित वार्ता गरेर सहमति कायम गरि सक्याछन भन्ने छ । तर ,३ नंका प्रतिनिधि अर्थात नयाँ गुठले भन्याजति महाधिवेशन प्रतिनिधि पाउनु पर्यो त्यो चुनाब गरेर हैनकि सर्वसम्मतिमा । यिनिहरको अडानले गर्दा हिजोसम्म मिलाउन खोज्ने २ गुठहरु, फेरि चुनाब बेगर सहमतिमा पद दिन नसकिने भनेछि ऐले कार्यकर्ता बीच लकधनि जारीछ ।

उता महाधिवेशनाँ जाने दिन आई सके भोलि १७ गतेसम्म चुनाब गरेर प्रतिनिधिको मुठो लगेर गगनलाई नबुझाउँदासम्म गगनको विश्वासिलो बन्न सक्ने अबस्था छैन । दुईदुईटा केन्द्रीय सदस्य त्यो पनि दुई नम्बर क्षेत्रकै गगन गुठकै । तर जिल्ला चाईँ हिजो देउवाको पकडमैथ्यो तर ऐले कस्को भा छ चुनाब नगरि था पाउन गाह्रैछ ।
अनि गगनका साथिहरु देउबाको ठाउँबाट सब्बै प्रतिनिधि आफ्नै ल्याउँछम भनेर गगनलाई विश्वास दिलाको अबस्थाँ चुनाउ गराएर महाधिवेशन प्रतिनिधि यानेकि गगनकै भोटर लिएर जान नसक्ने हो भने उनका अगाडि कसरी मुख देखाउने, बिचरा सुर्खेतका केन्द्रीय सदस्यहरुलाई मर्नु होला जस्तो छ ।
आफ्नो पकड बनाउलान भनेर दुईदुई जना केन्द्रीय सदस्य बनाएर पठाका गगनका यी केन्द्रीय सदस्यलाई ऐले साँच्चिकै अपठ्यारो पर्या हुनाले छुट्टै गगनको गुठको रुपाँ नेता त जन्माए । तर ,त्याँ पनि गगनकै दुई गुठ मध्ये यौटा एकातिर र अर्को अर्कोतिर फर्क्याछ भन्ने सुन्नमा आएर पो गाह्रो भो त । ऐलेसम्मको परिणाम हेर्दा महाधिवेशन प्रतिनिधिको चुनाब नगरिकन ३ नम्बरका आन्दोलनकारीले मनग्याजति सिट दिन सक्ने स्थिति रह्यो र तिन्टै गुठले बराबर प्रतिनिधि बाँडे भने चुनाबि कार्यक्रम सफल भो हैन भने भएन भन्ने बुझ्नु पर्ने भो त्यसैले नेताजीहरु के गर्नु हुन्छ त अब !
‘कोई राड्या नखाने कोई काड्या नखाने’ भन्याझैँ कोई चुनाब गर्नै नदिने कोई चुनाबमै जाने भएछि अब राजनीतिलाई तिन्टै नेताले बाँडि खानु हुन्छ कि चुनाबाँ जाम जे त होला भन्नू हुन्छ ।
२ नं क्षेत्रको महाधिवेशन प्रतिनिधि चयन तपाईंहरकै हाताँ रयो हैन र ? महाधिवेशन प्रतिनिधि भएर जाम्ला र कोई केन्द्रीय सदस्य बनम्ला कोई अरु केई बनम्ला र विपक्षिहरको ताई देखाम्ला भनेर ख्वाव पालिरा बेलाँ चुनाव वा छनौट गर्नै नभ्याएर महाधिवेशन प्रतिनिधिबाटै फुत्किनु होलानि बिचार गरेर कदम चाल्नु होला ।
निर्णय गर्ने समय धेरै लामो छैन । त्यसैले सबैको भलो हुनेगरि निर्णय गरम् किनभने १७ गते बेल्काको प्लेन चढने मेलोमेसो मिलाउन सक्नु भएन भने १५ औं महाधिवेशन तपाईंहरको हाताट फुत्क्यो फुत्क्यो ! पछि रोईकराई गरेर केही हुनेवाला छैन । चेतना भया !
–वरिष्ठ पत्रकार श्रीधर पौड्याल लामो समयदेखि स्काई न्यूज दैनिकका लागि समसामयिक राजनीतिक विषयवस्तुमा व्यङ्ग्यात्मक ‘कटाक्ष’ लेख्दै आईरहनु भएको छ ।











