२०८३ असोज २१ , बुधबार
Sky News Nepal
October 7, 2026

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित, सचेत रहन स्थानीयलाई आग्रह



हुम्ला । गए रातिदेखि वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ ।

अचानक मौसममा आएको परिवर्तनसँगै जिल्लाका उच्च हिमाली क्षेत्रमा थप हिमपात र तल्लो क्षेत्रमा वर्षा जारी रहेकाले सम्भावित क्षतिप्रति सतर्क रहन स्थानीयलाई आग्रह गरिएको छ । जिल्लाका विभिन्न स्थानमा हिमपात तथा वर्षा भइरहेकाले सुरक्षित रहन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताए ।

वर्षाका कारण भएको क्षतिको विस्तृत विवरण भने सङ्कलन भइरहेको र अहिले पनि निरन्तर वर्षा भइरहेको उनले जानकारी दिए । नाम्खा, सिमकोटलगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने अदानचुली, ताँजाकोटलगायत जिल्लाको तल्लो क्षेत्रमा रातिदेखि नै हल्का वर्षा भइरहेको छ । वर्षासँगै चिसो बढेपछि स्थानीयको दैनिक जनजीवन प्रभावित भएको हो ।

लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रमा रहेका कच्ची सडक तथा गोरेटो बाटोमा हिलो र पानी जम्दा आवतजावतमा समस्या भएको छ । वर्षाले पाक्न लागेको तथा खेतबारीमा रहेको अन्नबाली, तरकारीलगायतका बालीमा पनि क्षति पुग्ने जोखिम बढेको छ ।

केही स्थानमा बाढीपहिरो तथा खोलानालामा पानीको बहाव बढ्न थालेपछि स्थानीय त्रसित भएका छन् । वर्षा र हिमपातका कारण पशुचौपायालाई समेत समस्या भएको छ । चिसो बढेपछि खुला तथा गोठमा राखिएका पशुचौपायालाई आहार तथा संरक्षणमा समस्या भएको बताईएको छ ।

प्रकाशित मिति : २०८३ असोज २१ गते बुधबार
Translate »