

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा ककरोच जनता पार्टी (सीजेपी) ले आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन जान लागेका सयौं प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो प्रदर्शन मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र मतदाता नामावली पुनरीक्षण स्थगित गर्न माग गर्दै दिल्लीको जन्तरमन्तरमा आह्वान गरिएको थियो ।

प्रहरीले कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिप्के, पार्टीका प्रवक्ताद्व सौरभ दास र आशुतोष रांकालाई विमानस्थलबाटै शनिबार बिहान पक्राउ गरेको थियो । शनिबारै आम आद्मी पार्टीका संयोजक तथा दिल्लीका पूर्व मुख्यमन्त्री अरबिन्द केजरीवाल पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री ममता बेनर्जी, केरलका पूर्व मुख्यमन्त्री पिनाराई विजयन, अखिल भारत विद्यार्थी संगठन (आइसा) की राष्ट्रिय अध्यक्ष नेहा बोरा, युट्युबर ध्रव राठीसहित १५ सयभन्दा बढी प्रदर्शनकारी र अभियन्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार छुट्टाछुट्टै समूहमा आएका करिब ५०० जनालाई नियन्त्रणमा लिइएको छ भने पूर्वअपराधिक पृष्ठभूमि भएका करिब ५० जनालाई समातिएको छ। अर्को प्रहरी विवरणअनुसार कन्नाट प्लेस क्षेत्रबाट मात्रै थप २०० जना पक्राउ परेका छन् । धेरै ठाउँमा प्रहरी र प्रदर्शनकारीहरुबीच झडपहरु भएका छन् ।
यस धरपकडका बाबजुद पनि ठूलो संख्यामा मानिसहरु उपस्थित भएर जन्तर–मन्तरमा प्रदर्शन गरेका छन् । सीजेपीले मतदाता नामावली पुनरीक्षणमा व्यापक धाँधली भएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागेको छ ।











