

काठमाडौं । ललितपुर जिल्ला अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई पक्राउ गर्न पुर्जी जारी गर्न आदेश दिएको छ।
अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीका अनुसार जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले उनीहरुलाई पक्राउ गर्न पुर्जी जारी गर्ने आदेश दिएको हो ।

अदालतले पक्राउ परेका एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ । जोशीले १५ लाख रुपैयाँ र पाण्डेले १२ लाख रुपैयाँ धरौटी बुझाउनुपर्नेछ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले केही दिनअघि जोशी र पाण्डेलाई पक्राउ गरेको थियो । सीआईबीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईसहित चार जनाविरुद्ध बिहीवार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।











