२०८३ असोज २४ , शनिबार
Sky News Nepal
October 10, 2026

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्युपछि सुर्खेतको एयरपोर्टचोक तनावग्रस्त



 सुर्खेत ।  सुर्खेतको वीरेन्द्रनगरमा गएराती बुलेट मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि एयरपोर्टचोक तनावग्रस्त बनेको छ । ‎मृतकका आफन्तहरुले उचित क्षतिपुर्ति र मोटरसाइकल चालकलाई कारबाहीको माग गर्दै टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

एयरपोर्ट चोक अवरुद्ध भएपछि लामो तथा छोटो दुरी यातायातका सवारी साधनलाई रुट डाईभर्ट गरार गन्तब्यमा पु¥याउने काम भईरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु हुनुका साथै दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) कबिन्द्रसिंह बोहोराका अनुसार मृत्यु हुनेमा दैलेखको भैरवी गाउँपालिका घर भई हाल वीरेन्द्रनगर नगरपालिका—१०, बुदबुदेमा बस्दै आउनु भएका २७ वर्षीय विवेक थापा रहेका छन् । गएराति घुस्राबाट तीनकुने चोकतर्फ जाँदै गरेको लु ७२ प २००९ नम्बरको बुलेट मोटरसाइकलले थापा दम्पतीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट विवेककी २९ वर्षीया श्रीमती सुनिता थापा घाइते हुनु भएको छ । उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीको भनाइ छ । यस्तै, बुलेट मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका—१०, का २२ वर्षीय दिपेश चौधरी स्वयम् पनि घाइते भएको डीएसपी बोहोराले जानकारी दिए ।

मृत्यु भएका विवेकसहित सबैलाई घाइतेलाई कर्णाली प्रदेश अस्पताल, कालागाउँ लगिएपनि थप उपचारार्थ गएराती नै नेपालगञ्ज रिफर गरिएको थियो । तर विवेकको बाटोमै मृत्यु भएको हो । विवेकको शव अहिले प्रदेश अस्पतालको शवगृहमा राखिएको छ भने बाँकी दुई जना घाइतेको नेपालगञ्जमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : २०८३ असोज २४ गते शनिबार
Translate »