२०८३ असोज २६ , सोमबार
Sky News Nepal
October 12, 2026

तिलाकर्णाली हाईड्रोपावरको ईन्जिनियर हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ



कालिकोट । कालिकोट प्रहरीले तिलाकर्णाली हाईड्रोपावरको ईन्जिनियर हुँ भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले तिला हाईड्रो–१ र २ को नाम प्रयोग गरी सर्वसाधारणबाट पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा जुम्लाको चन्दननाथ नगरपालिका–१, आचार्यवाडाका ३५ वर्षीय कर्णवीर महतारालाई पक्राउ गरेको हो ।

उनलाई सदरमुकाममा मान्ममा ठगी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीमाथि तिला हाइड्रोपावर– १ को कर्मचारी हुँ भन्दै सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाएर ठगी गरेको आरोप छ ।

हाइड्रोपावरमा लगानी गर्ने तथा रोजगारी दिलाउनेलगायतका आश्वासन दिएर रकम लिएको बताइएको छ। प्रहरीका अनुसार ठगीमा पर्नेमा कालिकोटको शुभकालिका गाउँपालिकाका अनन्त चौलागाईं, स्थानीय शिक्षक रामबहादुर बोगटी, धनबहादुर बटला, रमेशबहादुर शाही र भीमबहादुर शाहीसहितका व्यक्ति छन् ।

प्रारम्भिक विवरणअनुसार पीडितहरूबाट पाँच लाख रुपैयाँ ठगी भएको जनाइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 

प्रकाशित मिति : २०८३ असोज २५ गते आइतबार
Translate »