२०८३ असोज २८ , बुधबार
Sky News Nepal
October 14, 2026

नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड पुर्‍याइने



काठमाडौं । सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले अबदेखि नागरिकले चाहेकै स्थानमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

सूचना तथा सञ्चारमन्त्री डा बिक्रम तिमिल्सिनाले बुधबार मन्त्रालयबाट ‘हुलाक–सिम सेवा’ को शुभारम्भ गरेका हुन् । सो सेवा सञ्चालनमा आएसँगै नागरिकले टेलिकमको सिमकार्ड लिन दूरसञ्चार कार्यालय पुगी राख्नुपर्ने छैन् ।

यस सेवाअन्तर्गत ग्राहकले अनलाइन आवेदन दिई आफ्नो नयाँ प्रिपेड ‘फिजिकल’ सिमकार्ड हुलाकमार्फत घरदैलोमा प्राप्त गर्न सक्नेछन् । सेवाग्राहीले esim.ntc.net.np लगइन गरी त्यहाँ रहेको ‘पोस्टल सिम पोर्टल’मा क्लिक गरेर आवश्यक विवरण उपलब्ध गराउनुपर्नेछ ।

नागरिकले अनलाइनमार्फत व्यक्तिगत विवरण र नजिकको ठेगाना (ल्यान्ड मार्क), फोटो र नागरिकता÷राहदानीको फोटोसँगै नजिकको टेलिकमको काउन्टर छनोट गरी आवेदन पेस गर्नुपर्नेछ । टेलिकमले कागजात जाँच र आवेदन स्वीकृत गरेपछि अनलाइनबाटै भुक्तानी गर्न सकिनेछ ।

सिमका लागि रु ९० र हुलाक डेलिभरीका लागि रु ७० शुल्क लाग्ने छ । उक्त रकम जुनसुकै बैङ्किङ एप वा डिजिटल वालेट वा नमस्ते पेबाट भुक्तानी गर्न सकिनेछ । त्यसपछि सेवाग्राहीको नजिकको हुलाक कार्यालयबाट सिम पठाइनेछ ।

सो सिम कहाँ पुग्यो भन्नेबारेमा समेत ट्रयाकिङ गर्न सकिने व्यवस्था गरिएको छ । हुलाक कर्मचारीले सेवाग्राहीको घरैमा सिम पुर्‍याइदिने छन् । कार्यक्रममा मन्त्री डा तिमिल्सिनाले हुलाक–सिम सेवा ‘डेलिभरी’को समय छोट्टाउन निर्देशन दिएका छन् ।

उनले भने, ‘डेलिभरीमा व्यक्त गरिएभन्दा अघि नागरिकको हातमा सिमकार्ड पुर्‍याउने प्रयास गर्नुहोला ।’ नागरिकले चाहेकै स्थानमा सिमकार्ड लगायत सरकारी सेवा पुर्‍याउन सकेको खण्डमा समय र रकम बचत हुने भन्दै उनले सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने प्रयास जारी रहेको बताए ।

प्रकाशित मिति : २०८३ असोज २८ गते बुधबार
Translate »