एक घर, एक धारा

सल्यान । सल्यान कालीमाटी गाउँपालिका ७ र्‍याङमा घर-घरमा खानेपानी धारा आएपछि स्थानीयमा खुसीयाली छाएको छ । र्‍याङका ७४ घरधुरीमा एक घर एक धारा कार्यक्रम अनुरूपमा घर घरमा खानेपानी धारा जडान भएपछि स्थानीय हर्षित भएका हुन ।

घर घरमा शुद्ध खानेपानी आएपछि विगतका पिर मर्का सबै भुलाइ दिएको कालीमाटी गाउँपालिका ७ र्‍याङकी ३७ वर्षीया नेपाकुमारी कामीले बताईन् ।विगत सम्झँदै उनले  भनिन्, ‘पहिले त हामीले खोलाको पानी, वर्षातमा तिनको छानाबाट थापेर खाएनौ की बबई नदी किनारमा खाल्डो बनाएर खाएनौ की ? खानेपानी लागि कति धेरै दुःख भोक्नु पर्थ्र्यो ।’

खानेपानीको जोहो गर्न गरेको दुःख सम्झिँदै घरमै पानी आएपछि निकै खुशी लागेको र्‍याङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष रातो बस्नेतले बताए । उनले गाउँपालिकामा हेल्पटासको सहयोगमा खानेपानीको व्यवस्था गरिदिएपछि स्थानीयवासीमा थप खुसीको लहर छाएको जनाए ।

विगतमा खोल्साखोल्सी तथा बबई किनारमा गएर पानी ल्याउनु पर्ने अवस्था रहेकोमा अब ‘एक घर, एक धारा‘ले त्यसको अन्त्य भएको उनको भनाई छ । उनले भने, ‘हिउँदमा एक किलोमिटर टाढा गएर खोला खोल्सी र वर्षातको समयमा बबई नदी किनारमा खाल्डो बनाएर खानेपानीको जोहो गर्नु पर्ने बाध्यता थियो ।’

कालीमाटी गाउँपालिकाको १७ लाख, हेल्पटासको ३४ लाख र २० प्रतिशत जनश्रमदान गरी ६४ लाखको लागतमा ७४ घरमा खानेपानीको धारा जडान भएको बस्नेतले बताए ।

बस्ती भन्दा झन्डै तीन किलोमिटर टाढा आम्बासबाट पानी ल्याएर घर–घर वितरण गरेपछि स्थानीयमा खुशी छाएको वडा न ७ का वडाध्यक्ष मित्रलाल पुनले जनाए । उनले भने, ‘यो बस्तीका स्थानीयको पुस्तौंदेखि को खानेपानीको समस्या भोग्दै आएकोले गत वर्षको बजेटमा रकम विनियोजन गरेपछि अहिले यो बस्तीका स्थानीयको एक घर एक धारा निर्माण भएको हो ।

नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी पुर्‍याउने उद्देश्य अनुरुप ७४ घरधुरीलाई एक एक वटा फिल्टर समेत वितरण गरिएको वडाध्यक्ष सुनारको भनाई छ ।

Translate »