युवालाई उत्पादनसँग जोड्न जिफन्टको माग
सुर्खेत । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कर्णाली प्रदेशले युवाहरुलाई उपत्पादनसँग जोड्ने कार्यक्रमहरु ल्याउन सरकारसँग माग गरेको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आज सुर्खेतको वीरेन्द्रनगरमा (जिफन्ट) कर्णाली प्रदेश युवा कमिटीले आयोजना गरेको खुल्ला बहस कार्यक्रममा बोल्ने वक्ताहरुले युवालाई आन्तरिक उत्पादनसँग जोड्न सके मात्र बेरोजगारी दर घटाउन सकिने बताएका हुन् ।
जिफन्ट प्रदेश अध्यक्ष तेजप्रकाश जिसीले वर्तमान युवाहरुको चाँसो र जागरुकतालाई सरकारले प्राथमिकतामा राखी शतप्रतिशत नतिजामुखि कार्यक्रम सञ्चालन गर्न आग्रह गरे । देशबाट दक्ष युवाजनशक्ति वैदेशिक रोजगारमा लर्को लागेर जानु रहर नभई बाध्यता भएको जिकिर गर्दै उनले स्वदेशमै रोजगारीको सिर्जना गरी युवा शक्ति संचित गरी उत्पादनमा जोड्न सुझाव दिए ।
‘समृद्ध नेपाल सुखी नेपालीका लागि युवा सशक्तिकरण’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा स्वास्थ्यकर्मी सीता शाहीले महिलाहरुको सहभागितामूलक नेतृत्वमा नीतिगत अवधारणा अनुसार कार्यान्वयन हुन नसकेको बताईन् । अधिकार सहजै नमिल्ने वर्तमान परिप्रेक्षले देखाएको हुँदा युवाहरुलाई संघर्षका लागि तयार हुन उनले आग्रह गरिन् ।
बहसमा सहभागी युवा उद्यमी ऋषि वलीले नेपाल सरकारले युवाहरुको क्षमता पहिचान गर्न नसक्दा देश दुर्घटना तर्फ गइरहेको विचार व्यक्त गरे । स्वास्थ्य, पेशा व्यवसाय, कृषि, निर्माण र सामाजिक क्षेत्रमा संलग्न युवाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा युवा कमिटी सदस्य मीना गौतमले सञ्चालन गरेकी थिइन् भने बहस कार्यवाहक अध्यक्ष सविता धामीको अध्यक्षतामा सम्पन्न भएको थियो ।