पहिलो किस्ताकाे पखाईमा सल्यान दार्माका भूकम्प पीडित

सल्यान । वि.स २०८० कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले क्षति पु¥याएको सल्यान दार्माका दुई हजार चार सय लाभग्राहीले अझै पहिलो किस्ता पाउन सकेका छैनन् । भूकम्प गएको झन्डै नौ महिना बितिसक्दा पनि पीडित पहिलो किस्ताकै पखाईमा छन् । पहिलो किस्ता पाएका सबै लाभग्राहीले पनि दोस्रो किस्ता पाउन सकेका छैनन् । भूकम्प पीडित अस्थायी आवास निर्माणका लागि ४ हजार ८१ लाभग्राही मध्ये हालसम्म पहिलो किस्ता बापतको १ हजार ६ सय ७४ घरधुरीले मात्र रकम पाएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए ।

संघीय सरकारले दार्मा गाउँपालिकालाई हस्तान्तरण गरेको ४ करोड २० लाख मध्ये १ हजार छ सय ७४ घरधुरीलाई २५ हजारका दरले वितरण गरिएको र बाँकी अपुग रकम संघीय सरकारसँग माग गरिएको उनको भनाई छ । उनले भने ‘संघीय सरकारबाट निकासा रोकिदा भूकम्प पीडितलाई पहिलो किस्ता बापतको रकम हस्तान्तरण गर्न समस्या भएको छ ।’ साथै भूकम्प प्रभावितहरूका लागि स्थायी आवास निर्माणका लागि ४ हजार ७४ घरधुरीलाई प्राधिकरणमा सर्वदलीय निर्णय सीमित सिफारिस गरि सकिएको पालिका अध्यक्ष केसीले बताए। लाभग्राही मध्ये ६ जनाको कागजात नपुग्दा प्रक्रिया रोकिएको उनको भनाई छ ।

आफूसँग भएको थोरै पैसाले अस्थायी आवास निर्माण गरे पनि हालसम्म कुनै रकम उपलब्ध नभएको दार्मा गाउँपालिका ३ का भूकम्प पीडित डिल्ली बहादुर खत्रीले बताए । वर्षातको समयमा अस्थायी घरमा बस्दा धेरै समस्या हुने गरेको उनको भनाई छ । उनले भने, ‘जस्तापाताले बारेको घरमा बसी रहेका छौँ हावाहुरी लाग्दा, ठूलो पानी पर्दा झनै समस्या छ । अन्य समयमा भन्दा आजभोलि वर्षाको समयमा झनै गाह्रो भइरहेको छ । सरकारबाट आउने रकम पाए अलि गतिलो बस्ने घर बनाउन हुन्थ्यो ।’

Translate »