सुर्खेतमा बढ्दो सवारी दुर्घटना : ६ सय ७३ वटा सवारी दुर्घटनामा परी २८ जनाको मृत्यु, एग्घार सय ५० जना घाइते

डिल बहादुर खत्री/सुर्खेत । सुर्खेतमा बर्षेनी सडक दुर्घटना बढिरहेको छ ।

न्यूनिकरणका लागि सरकारी तथा नागरिक स्तरबाट गरिएका प्रयासका वावजुद कमी आउनुको साटो सवारी दुर्घटना बढिरहेका छन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार गत आर्थिक वर्षमा ६ सय ७३ वटा सवारी दुर्घटनामा परी २८ जनाको मृत्यु हुनुका साथै १ हजार १ सय ५० जना घाईते भएका छन् ।

ती मध्ये १ सय ८१ जना गम्भिर घाईते हुन् । त्यस अघिल्लो आर्थिक वर्ष २०८९/०८० मा ३ सय २९ वटा सवारी दुर्घटनामा परी ३० जनाको मृत्यु र ५ सय ६५ जना घाईते भएका थिए । ती मध्ये १ सय ४२ जना गम्भिर घाईते हुन । अहिले दिनहुँ सडक दुर्घटना भोग्नु सुर्खेतीको नियति जस्तै बन्न पुगेको छ ।

प्रायः सुर्खेत आसपासका क्षेत्रमा दशै–तिहारजस्ता ठूला पर्वको मुखमै गम्भीर प्रकृतिका दुर्घटना घट्ने गर्दछन् । यस्ता घटनालाई सामान्य भन्न पक्कै सकिँदैन् । तर, हालै कर्णाली प्रदेश सरकारले अनावश्यक रहेका सवारी चेकजाँच ट्राफिक पोष्टलाई हटाउन गरेको निर्देशनलाई नियमित चेकजाँच नै नगर्नु भन्ने अर्थमा लिन थालिएको प्रति सरोकारवालाले चिन्ता जाहिर गरेका छन् ।

सुर्खेतमा एकपछि अर्को गम्भीर प्रकृतिका दुर्घटना हुनुलाई असामान्य मान्न सकिदैन् । ‘एउटा सवारी दुर्घटनाले परिवारलाई शोकमा डुबाउँछ भने प्रदेशबासीलाई स्तब्ध बनाएको यस अघिका थुप्रै उदाहरणहरु छन्,’ राष्ट्रिय उपभोक्ता मञ्चका सदस्य कुमारी भुसालले भनिन्, ‘अधिकांश ठूला सवारी दुर्घटना सार्वजनिक यातायात सम्बद्ध हुन्छन् । कर्णालीको यातायात क्षेत्र कति जोखिमपूर्ण छ भन्ने छर्लङ्ग छ । दिनहुँजसो भइरहने दुर्घटना देख्ने र सुन्नेलाई सामान्य जस्तै लागेपनि त्यसबाट उत्पन्न क्षति अपूरणीय हुन्छ ।’

उनले सुर्खेत आसपासका क्षेत्रमा हुने अधिकांश सवारी दुर्घटना लापरवाहीले नै हुने गरेको ट्राफिक प्रहरीका प्रतिवेदनबाटै जो कोहीले सहजै बुझ्न सकिने बताईन् । उनका अनुसार सरकारले देशभरबाट सिण्डिकेट हटाएको घोषणा गरेपनि कर्णालीको यातायात क्षेत्र भने सबैभन्दा बढी सिण्डिकेटले ग्रस्त छ ।

मादक पदार्थ सेवन गरेर दुर्घटनास्थलसम्म पुग्दा कति ठाउँमा ट्राफिक जाँच हुन्छ ? र ती ट्राफिकले के जाँच गरे ? कति ठाउँमा सवारी साधनले गर्ने गल्ती चालक र ट्राफिकको पैसामा हिसाव मिलान हुन्छ ? त्यही पैसाको लोभमा पनि ठूला–ठूला सडक दुर्घटना हुने गरेको उनी बताउँछिन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/०८९ मा १ सय ९३ सवारी दुर्घटनामा परी ३१ जनाको मृत्यु र ३ सय ७५ जना घाईते भएका थिए ।

के दुर्घटना न्यूनीकरण गर्न सकिँदैन ?

हामी योजनावद्ध तवरमा काम गर्नेभन्दा पनि प्रतिकारात्मक तरिकाले काम गर्न रुचाउँछौं । त्यसैको फलस्वरुप दिन प्रतिदिन दुर्घटना बढिराखेका छन् । मुलतः सडक दुर्घटना अहिले देशैभरीको ठूलो समस्याको हो । फरक के मात्र हो भने देशका अन्य प्रदेश भन्दा कर्णालीमा सवारी चालककै लापरवाहीले सडक दुर्घटना बढी हुने गरेको विभिन्न तथ्यांकले देखाउँछ ।

सडक दुर्घटनाका तीन कारण

सुर्खेत आसपासका क्षेत्रमा दुर्घटना हुनुका मुख्य तीन कारण मध्ये सडक, साधन र चालक हुन् । यी तीनपक्ष नै सुदृढ अवस्थामा नभएकैले दुर्घटना बढेको पाइन्छ । अर्थात सडकको अवस्था, सवारी साधनको अवस्था र सवारी चालकको अवस्थालाई लिइने गरिन्छ । अन्य कारणहरुमा बाटो काट्ने बटुवा, जनावरहरु र सवारी साधनमा यात्रा गर्ने यात्रु पनि दुर्घटनाको कारण बन्ने गरेको पाइन्छ ।

यदि यी अवस्थाहरु ठीक छन् भने दुर्घटना कम हुन सक्छ र ठीक छैन भने सवारी दुर्घटना बढी हुने गर्छ । यदि प्रदेश सरकारले सडक दुर्घटना कम गर्न चाहन्छ भने यी तीनवटा कुरामा ध्यान दिई उचित कदम चाल्नु उचित देखिन्छ ।

अन्यथा, जति नै छानविन समिति बनाए पनि र जति प्रतिवेदन बनाए पनि दुर्घटना कम गर्न सकिँदैन । सवारी दुर्घटना कम गर्न कुनै एक पक्षमात्रै लागेर हुँदैन । यसमा सरकार, निजी क्षेत्र तथा आम जनताको साथ र सहयोग आवश्यक पर्छ ।

-पत्रकार डिल बहादुर खत्री स्काई न्यूज दैनिकका लागि क्राईम, अर्थ राजनीति र विकास निर्माणमा समाचार लेखन तथा सम्पादन गर्नु हुन्छ ।

Translate »