सुर्खेतमा मापसेबाट ३१ लाख २४ हजार राजश्व


डिल बहादुर खत्री/सुर्खेत । सुर्खेत ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) र लागु पदार्थ सेवन (लापसे) गरी सवारी चलाउनेमाथि कारबाहीलाई तीव्र पारेको छ ।
ट्राफिक प्रहरीले गएको तीन आर्थिक वर्षमा मादक पदार्थ सेवन (मापसे) र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३ हजार १ सय २४ जनालाई कारवाही गरी ३१ लाख २४ हजार रुपैयाँ जरिवाना गरेको हो ।
गत साउनदेखि असार मसान्तसम्म मादक पदार्थ सेवन (मापसे) र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने १ हजार ३ सय ६६ जनालाई कारबाही गरी १३ लाख ६६ हजार रुपैयाँ जरिवाना असुल उपर गरेको जनाएको छ । सुर्खेत ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७८/०८९ मा मापसे र लापसे गरी सवारी चलाउने १ हजार दुई सय २३ जनालाई कारवाही गरी १२ लाख २३ हजार रुपैयाँ जरिवाना असुल गरेको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा मापसे र लापसे गरी सवारी चलाउने ५ सय ३५ जनालाई कारवाही गरी ५ लाख ३५ हजार रुपैयाँ रुपैयाँ जरिवाना असुल गरको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पु¥याउन तथा दुर्घटना न्यूनीकरण गर्न मापसे तथा लापसे चेकिङ प्राथमिकतामा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजन पौडेलले बताए ।

चालकले मापसे गरी सवारीसाधन चलाउँदा आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउने गरेको तथ्यांकले देखाएको उनको भनाइ छ । उनले सिसीटिभीको पहुँच न्यून र सीमित ठाउँमा मात्र ट्राफिक प्रहरीको उपस्थितिका कारण मापसे गरी सवारी चलाउने प्रवृत्ति बढ्दो देखिएको जनाए । उनका अनुसार यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुका साथै मापसे तथा लापसे नियन्त्रणलाई प्रभावकारी बनाउन प्रहरीले सक्रियता देखाउँदै आएको छ ।
‘दुर्घटनाबाट आफ्नो र यात्रुको ज्यान बचाउन प्रत्येक चालकले सही हालतमा सवारीसाधन चलाउनुपर्छ । यो कुरालाई स्थानीयस्तरमा सबै नागरिकले बुझ्न र पालना गर्न आवश्यक हुन्छ’, उनले भने । मापसे गरी सवारी चलाउने मात्र होइन मापसे गरी बाटोमा जथाभावी हिँड्नेका कारण पनि सवारीसाधनले ठक्कर दिँदा दुर्घटना हुने गरेको उनले बताए ।
‘सडक सुरक्षा र दुर्घटना न्यूनीकरणको लागि विषेश जोड दिँदै आएका छौं,’ उनले भने, ‘मापसे, लापसे नगरी सवारीसाधन चलाउने कार्यलाई प्रवद्र्धन गर्न प्रहरी र नागरिकबीच सहकार्य र समन्वय गरी अगाडि बढ्नु आवश्यक छ । हाम्रो मुख्य ध्यान दुर्घटनाबाट धनजनको क्षति नहोस् भन्ने नै हो । नागरिकले पनि प्रहरीको यो कार्य मेरो आफ्नै सुरक्षाका लागि हो भन्ने कुरा मनन् गरिदिएमा सबैका लागि राम्रो हुनेछ ।’
-पत्रकार डिल बहादुर खत्री स्काई न्यूज दैनिकका लागि क्राईम, अर्थ राजनीति र विकास निर्माणमा समाचार लेखन तथा सम्पादन गर्नु हुन्छ ।

