कर्मचारी सञ्चय कोषको सुर्खेतमै २ अर्ब ७५ करोड बढी लगानी

सुर्खेत । कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताका लागि सुर्खेतमा वर्षेनी लगानी विस्तार गर्दै आईरहेको छ ।

कोषले विभिन्न शिर्षकबाट पछिल्लो दुई आर्थिक वर्षमा सञ्चयकर्ता मार्फत २ अर्ब ७५ करोड ६ लाख ८९ हजार १ सय ९७ रुपैयाँ लगानी गरेको हो । गएको आर्थिक वर्ष २०८०/०८१ मा कोषले १ अर्ब ३९ करोड ७३ लाख ८८ हजार ८ सय ५० रुपैयाँ लगानी गरेको जनाएको छ । यो त्यस अघिल्लो आर्थिक वर्ष २०७८/०८९ को तुलनामा ३१ दशमलव ६९ प्रतिशतले बढी लगानी हो ।

उक्त आवमा कोषले १ अर्ब ३५ करोड ३३ लाख ३ सय ४६ रुपैयाँ लगानी गरेको थियो । कोषले सबै भन्दा बढी विशेष सापटी शिर्षकबाट पछिल्लो दुई आर्थिक वर्षमा ६ हजार पाँच सय ८६ जनालाई १ अर्ब ५४ करोड ८१ लाख १५ हजार ८ सय रुपैयाँ ऋण प्रवाह गरेको छ । गएको दुई वर्षमा कोषले सञ्चयकर्ता घर सापटी शिर्षकबाट ५ सय ६७ जनालाई ६३ करोड ५१ लाख ७१ हजार आठ सय रुपैयाँ लगानी गरेको बताएको छ ।

त्यस्तै सञ्चयकर्ता घर मर्मत सापटी तर्फ ५९ जनालाई ९ करोड ९६ लाख ८१ हजार ३ सय रुपैयाँ लगानी गरेको छ भने जग्गा खरिद सापटीतर्फ ७ जनालाई १ करोड ६ लाख १ हजार रुपैयाँ लगानी गरेको छ । उता सञ्चयकर्ता शैक्षिक सापटीतर्फ भने ९ जनालाई १ करोड ५७ लाख ९७ हजार रुपैयाँ लगानी गरेको छ । कोषले गएका दुई वर्षमा ३ हजार ८ सय जनालाई ४१ करोड ९० लाख ८३ हजार ३० रुपैयाँ त सञ्चय कोष भुक्तानी मात्र दिएको बताएको छ ।

सञ्चयकर्ताले सञ्चय कोषबाट विशेष सापटी, घर सापटी, शैक्षिक ऋण, सरल कर्जा र घर मर्मत सापटी शीर्षकमा ऋण सुविधा पाउँदै आएका छन् । सञ्चयकर्ताले सञ्चयकोषमा रहेको रकमको ८० प्रतिशतसम्म विशेष सापटी लिन पाउँछन् । यसको कर्जा अवधि सेवाकालसम्म रहन्छ, जसको ब्याजदर ८ प्रतिशत मात्र छ ।

कर्मचारी सञ्चय कोष सुर्खेतका प्रमुख ध्रुवप्रसाद तिवारीले कोषको रकमबाट उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सृजना गर्नुका साथै व्यापार घाटा कम गर्न समेत सहयोग पुगिरहेको बताए । ‘सञ्चयकर्ताको बोनस रकम समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा कोषले विस्तार गरिहेको छ,’ उनले भने, ‘कोषले संस्थागत सुशासनमा ध्यान दिँदै कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाएर सञ्चयकर्ताका लागि सहज वातावरण सृजना गरिरहेको छ ।’


उनले आर्थिक अनुशासन, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्दै कोष  सार्वजनिक क्षेत्रको उत्कृष्ट सामाजिक सुरक्षा प्रदायक संस्थाको रुपमा विकास भईरहेको दावी गरे । उनका अनुसार सुर्खेत सदरमुकाम वीरेन्द्रनगरसँगै शहरउन्मुख भेरीगंगा, गुर्भाकोटपछि अब छिट्टै पञ्चपुरी नगरपालिकाको बायिाचौरमा समेत आवास कर्जा कार्यक्रम सञ्चालन गर्ने तयारी भईरहेको छ ।

सरल कर्जा पनि प्रवाह

कर्मचारी सञ्चय कोषले सुर्खेतमा सरल कर्जा पनि प्रवाह गरिरहेको छ । कोषले कर्णालीका करीब ५० हजार सञ्चयकर्ताका लागि पहिलोपटक यस्तो कर्जा ल्याएको हो । कर्णालीमा गतवर्षदेखि लागू गरेको सरल कर्जा दुई जनालाई ३० लाख रुपैयाँ लगानी गरिसकेको कोषले जनाएको छ ।

‘सरल कर्जा कार्यक्रमबाट कर्णालीका झण्डै ५० हजार सञ्चयकर्ता प्रत्यक्ष लाभान्वित हुनेछन्,’ कोषका सुर्खेत प्रमुख तिवारीले भने, ‘विशेष सापटी, आवास कर्जा, जग्गा खरिद कर्जा, शैक्षिक तथा घर मर्मत कर्जाप्रति सञ्चयकर्ताको बढ्दो आकर्षणसँगै हामीले गएको आर्थिक वर्षदेखि सरल कर्जा कार्यक्रम पनि ल्याएका हौं ।’

कार्यालयमा शैक्षिक तथा घर मर्मत कर्जाबारे बुझ्न दैनिक ५/६ जना सञ्चयकर्ता आउने गरेको उनले जानकारी दिए । कोषले उच्च शिक्षा अध्ययनका लागि ८ दशमलव २५ प्रतिशत वार्षिक ब्याजदरमा एमबीबीएस, एमडीका लागि बढीमा २५ लाख रुपैयाँसम्म शैक्षिक कर्जा प्रदान गर्छ । अन्य सामान्य विषयको हकमा विदेशका लागि २० लाख तथा स्वदेशमा अध्ययनका लागि १० लाख रुपैयाँसम्म शैक्षिक कर्जाको व्यवस्था रहेको प्रमुख तिवारी बताउँछन् ।

यता नेपाल निजामती कर्मचारी युनियनका पूर्व केन्द्रीय कोषाध्यक्ष नृपजङ्ग शाहीले कोषले सुर्खेतमा ल्याएको सरल कर्जा कार्यक्रम सञ्चयकर्ताका लागि स्वागतयोग्य कदम भएको प्रतिक्रिया दिए । कोषद्वारा सञ्चयकर्ताका लागि उपलब्ध सेवा सुविधा कर्णाली प्रदेशभरी लागू गर्न पहल गरिनुपर्नेमा उनको जोड छ ।

Translate »