अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

सुर्खेत । चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । अविरल वर्षाका कारण गत भदौ १२ गतेदेखी अवरुद्ध कर्णाली राजमार्गको पहिरो पन्छाउने काम सम्पन्न भएपछि आज दिउँसो खुलेको हो ।

गगने खोला र दहिखोलाको पहिरो पन्छाएसँगै सडक खुलेको हो । सडक खुलेपछि ताडीमा रोकिएका स्याउ बोकेका ट्रकलाई पहिलो प्राथमिकता दिएर पठाइएको छ ।


आइतबार बिहान कालिकोटका प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेअनुसार सडक खुल्ने बित्तिकै स्याउ बोकेका ट्रकलाई पहिला पठाइएको कर्णाली प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री टेकराज पछाईले जानकारी दिए । अहिले ताडीमा रोकिएका सबै गाडी अगाडि गइसकेका छन् ।

यसअघि सडक नखुल्दा किसानलाई नेपालगञ्ज र सुर्खेतका लागि ट्रकमा राखिएका स्याउ वीच बाटोमै कुहिएर खेर जाने चिन्ता थियो । राजमार्गका अन्य ठाउँका साना–तिना पहिरो पन्छाउन सुर्खेत र नेपालगञ्जबाट पठाईएका मेसिनले काम गरिरहेको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ ।

Translate »