कर्णालीको अवस्था बद्ल्न युवाहरुको साथ चाहिएको छ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको अवस्था बद्ल्न युवाहरुको साथ र संकल्पको जरुरी रहेको बताएका छन् ।

वीरेन्द्रनगरमा शुक्रबारदेखि शुरु भएको कर्णाली युवा महोत्सवको उद्घाटन गर्दै उनले सरकारको एकल प्रयासले मात्र कर्णालीको विकास र समृद्धिको यात्रा सफल नहुने भएकाले युवाहरुको साथ चाहिएको बताएका हुन् ।

‘प्रदेश सरकारलाई निश्चित बजेट र स्रोतसाधनका आधारमा काम गर्नुपर्ने बाध्यता छ । सबै पक्षलाई समेटेर लैजाने प्रयास गरेको छु, युवाको सकारात्मक साथ आवश्यक छ,’ उनले भने, मैंले कहिल्यै कर्णालीको शीर निहु¥याउने काम गर्ने छैन्, प्रदेशको विकासमा युवाहरुलाई साथमै राख्नेछु । लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले व्यवस्थाविरोधी चिन्तन नराख्न युवाहरुलाई आग्रह गर्दछु ।’

युवा महोत्सवलाई सम्बोधन गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले युवाहरुले निराशाको खेती गरेर नागरिकलाई पछि धकेल्ने काम गर्न नहुने बताइन् । ‘राज्यले के गरेको छ ? भनेर निराशा छर्ने काम भएको छ, कोभिडजस्तो भयावह अवस्थामा पनि स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीले नागरिकको सुरक्षाका लागि फ्रन्टलाइनमा आएर राज्यप्रतिको दायित्व पुरा गरेको उदाहरण प्रस्तुत गर्दै युवाहरुले समाजलाई भ्रम छर्ने खालका गतिविधिमा नलाग्न आग्रह गरिन् । राम्रा पक्षलाई उजागर गर्ने र गल्ती कमजोरीलाई सच्याउन आग्रह गर्नुपर्ने उनको भनाई छ ।

‘अहिलेको युवाहरुमा केही समस्या छन्, फेसबुक लाइभमा बसेर समय खेर फालिरहेका छन्, घरमा बसेर फेसबुकमा गाली गरेर हैन, सिर्जनशील बन्नुपर्छ, उद्यमशील बन्नुपर्छ, ढकालले भनिन्, ‘जो व्यक्तिको मनमा सँधै निरासा हुन्छ, त्यस्तो व्यक्तिबाट समाज रुपान्तरण सम्भव हुँदैन, आशावादी हुनुपर्छ ।’ उनले आफ्नो खेतीयोग्य जमिनलाई बाँझो राखेर राज्यलाई गाली गरेर विदेश जाने मोह त्याग्नुपर्ने सुझाव दिईन् ।

कार्यक्रममा नेपाली कांगे्रसका युवा नेता भुपेन्द्रजंग शाहीले कर्णालीका नागरिकहरुले केही गर्न सक्दैनन् भन्ने सोच बदल्नुपर्ने बताए । ‘कर्णालीबारे सोच बदल्न आवश्यक छ, कर्णाली सम्भावनाको क्षेत्र हो, कर्णालीको कृषि, पर्यटनमा धेरै सम्भावना भएको प्रदेश हो, उनले भने, ‘तर आज कर्णालीका गाउँहरु खाली भएका छन्, युवाहरु विदेशिएका छन्, हामीले मिहेनत गर्ने हो भने कर्णालीको माटोमा सुन फलाउन सकिन्छ ।’

नेता शाहीले कर्णाली बदल्नका लागि राजनीतिक दलहरु र वौद्धिक वर्गलाई दलीय स्वार्थभन्दा माथि उठ्न आग्रह गरे । राजनीतिक पावरका आधारमा भन्दा पनि साझेदारीका आधारमा यसको विकासमा लाग्न जरुरी रहेको उनको भनाई छ । ‘युवा रोजगार र समृद्धिका विषयमा सबै एकताबद्ध हुन आवश्यक छ, हामीले युवालाई विदेश नजाउ भनेपनि देशमा रोजगारी दिन सकिने अवस्था छैन्,’ उनले भने ।

उनले युवाहरुलाई उत्पादन, उद्यमशिलताका क्षेत्रमा आकर्षित गराउने खालका कार्यक्रमहरु प्रदेश सरकारले सञ्चालन गर्न आवश्यक रहेको औल्याए । परिवर्तनका लागि युवा, राष्ट्र निर्माण मञ्च नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा शुरु भएको कर्णाली युवा महोत्सव शनिबारसम्म चल्नेछ । महोत्सवमा कर्णालीको विकासमा युवाको भूमिका, युवा उद्यमशिलता र सिर्जनशिलता लगायतका विषयमा प्रेरणादायी सत्रहरु सञ्चालन भईरहेका छन् ।

Translate »