सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलियो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङ‌मार्गको मुख्य सुरुङ छिचोलिएको (ब्रेक थ्रु) छ ।

पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ दोभान नजिकै आयोजनाको बेस क्याम्पमा औपचारिक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएपछि सुरुङको ‘ब्रेक थ्रु’  भएको हो । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङ‌मार्ग बनाइएको हो ।

सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र पर्छ । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो।

यो सुरुङमार्गका लागि २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ जेठ ९ मा सडक विभागले अन्तरराष्ट्रिय रूपमा बोलपत्र आह्वान गरी सुरुङमार्ग निर्माणको ठेक्का लगाएको थियो ।

सुरुङ‌भित्र केही समस्या आए निस्कन मिल्नेगरी तीनवटा बाइपास बनाइएको छ। तेस्रो र पहिलो बाइपास को ‘ब्रेक थ्रु’ भदौ तथा असोजमा भएकामा दोस्रो बाइपासको ‘ब्रेक थ्रु’ गत पुस ७ गते भएको हो ।

यहाँ पहिलो बाइपासको लम्बाइ एक सय ५१ मिटर, दोस्रोको लम्बाइ एक सय ६१ मिटर र तेस्रोको एक सय ३० मिटर छ। पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । सुरुङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रू. सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा शुरु गरेको काम २०८३ सालमा सम्पन्न हुनेछ ।

विस २०७८ फागुनमा निर्माण ठेक्का सम्झौता भएपनि कम्पनीले २०७९ सालको अन्तिमतिर सुरूङ खन्न थालेको हो। आयोजना प्रमुख कृष्णराज अधिकारीले सुरुङ‌मार्गका तीनवटै बाइपास सुरूङ ‘ब्रेक थ्रु’ भइसकेको जानकारी दिए । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाइरहेको यो सुरुङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्‌जा, बागलुङ, पर्वतलगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावत सहज हुनेछ ।

स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअप्रेशन (एसडीसी) ले २०७५ सालमा यो क्षेत्रको सर्वेक्षण गरी सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)  तयार गरेको थियो । उक्त कम्पनीले सिद्धार्थ राजमार्गको बर्तुङ-चिडियाखोला सडकखण्डको सिद्धबाबादेखि दोभान चौकीसम्मको दुई हजार सात सय मिटर सडकक्षेत्र जोखिमयुक्त रहेको जानकारी सरकारलाई दिएको थियो ।

सोही सुझावअनुसार सुरुङमार्ग निर्माणको निर्णय भएको हो । विशाल चट्टानले युक्त भीरमा रक सेट अर्थात् स्लोप प्रोटेक्सनको काम गर्न सम्भव नभएको क्षेत्रमा सुरुङको प्रस्ताव भएअनुसार यो सुरुङ खन्न थालिएको हो । रासस

Translate »