ऐतिहासिक सिन्धुलीगढीको यात्रा संस्मरण

विहानै ७:०० बजे खाजा खाने काम सुरुवात भएको थियो । चिया र खाजा खाएको भन्दा पनि बाटोमा भोक नलागोस् भनेर पेटमा केही चिज राखेको भान हुँदै थियो । तपु दादाले गाडी स्टार्ट गरी अगाडिको ढकनी खोलेर खै के खै के हेर्दै थिए । मसिनो लौरो समाएर हातमा ल्याएर लर्काएर पुछे अनि फेरि काँ हो कुन्नी घुसारे, सायद पछि त्यो काम लाग्ने थियो होला, हाम्रो लागि त त्यो एउटा लौरी सिवाय केही थिएन । पेम्बे दादाले हातमा मोबाइल जस्तै माथि सिङ भएको चिज समाएर बेलाबेलामा रोजर रोजर भन्दै केही भन्दै हुन्थे, मैले भने मोबाइललाई फर्काएर यताउता हेर्दै थिएँ । पुडासैनी सर र पुरु सर भने अब कसरी जाने के गर्ने भन्ने विषयमा व्यस्त हुनुहुन्थ्यो । तपु दादाले गाडिको ढकनी बन्द गरे अनि पुडासैनी सर तपु दादाको साइडको सिटमा बस्नुभयो । म, पेम्बे दादा र पुरु सर गाडीको बीचको ढोका खोली भित्र बस्यौँ । गाडिको सिटमा ओच्छ्याइएको सिरानी जस्तै के हो कुन्नी त्यो लर्किएर भुइँमा झर्नै लागेको थियो, मैले समाएर सिटमा मिलाएर ‌ओच्छ्याएँ अनि बसेँ । तपु दादाले गाडीको अगाडि बालेको अगरबत्तीको बासनाले चारैतिर सुगन्ध फैलाइरहेको थियो ।

“खिलते हैं गुल यहाँ, खिलके बिखरने को” भन्ने बोलमा सानो आवाजमा तपु दादाले बजाएको गीतले यात्रा गर्दा यति आनन्दमय भएको थियो के मैले बयान गर्दा पनि कम नै हुन जान्छ । बर्दिबासबाट जम्मा ६८ किलोमिटर जति पर्दछ भन्दै तपु दादाले त्यही अनुसारको गाडीको गति बढाउँदै थिए । गौरीबास हुँदै भिमानसम्म पुगियो । बर्दिबासमा ठीक्क रहेको मौसम थोरै चिसोको अनुभव हुन थाल्यो । पेम्बे दादाको आँखा त्यसै पनि चिम्लिएको जस्तो देखिने, झन निदाउँदा त चिम्लिएको हो के हेरेको हो मैले पत्तो पाउन खोज्दा खोज्दै हामी झण्डै कमलामाई नगरपालिका, वडा नं. ८ तिर पुगिसकेछौँ । नयाँ स्थान, नयाँ बासना, नयाँ रङ्ग, नयाँ पन, नयाँ अनुभव, नयाँ भाव, नयाँ हावा यस्तै यस्तै मेरा मनमा विभिन्न किसिमका सोचाईले शरीरमा एक किसिमको नयाँ रक्तसञ्चारको अनुभव भइरहेको थियो । हामी बि.पी. राजमार्ग हुँदै सिन्धुली गढीको यात्रामा लम्किरहेका थियौँ । हामी कमलामाई मन्दिरलाई विदा गर्दै ग्वाङ खोलाको किनारै किनार अगाडि बढिरहेका थियौँ । हामीहरु सबैको मनमा रमाईलो तरङ्ग उत्पन्न भइरहेको थियो, गाडीले पनि रमाइलो मान्दै तपु दादाको हात, खुट्टाको इशारासँगै कुदिरहेको थियो । केही समयमा गडौली खोलाको पुल पार गरिसकेपछि हामी सिन्धुलीलाई लगभग छुँदै फेरि पनि अघि बढ्यौँ । बाटाका वरिपरी सुन्तला र जुनारहरुले आँखालाई पहेँलपुर बनाइरहेका थिए ।

सिन्धुली पुग्न १२ किलोमिटर बाँकी रहँदा कमला नदी पुग्यौँ । त्यो नदीले धार्मिक महत्व बोकेको रहेछ, किनकी त्यस आसपासमा विभिन्न मन्दिरहरु पनि रहेछन् । कमलामाई नगरपालिका यही नदीको नामबाट बनेको विषयमा समेत थाहा भयो । हामी सिन्धुली बजार छेउछाउमा पुगेका थियौँ । त्यहाँ एउटा सानो बुद्धनगर नाम गरेको बजार रहेछ । त्यो मुखिया राजमार्ग छोडेर भित्र छिर्ने बाटो थियो । त्यहाँ सिन्धुली बजार प्रवेश द्वार लेखेको गेट थियो । पेम्बे दादाले सानो आँखा पारेर सिन्डुली बजार प्रवेश ड्वार भनेर पढे अनि मैले सिन्धुली बजार प्रवेश द्वार रहेछ भनेर बुझेँ । हामी एकछिन सिन्धुली बजार क्षेत्रमा समेत प्रवेश गर्यौँ । बाटैबाट यात्रा गरेका भए चाहीँ हामीहरुले त्यो बजार क्षेत्रलाई देख्न पाउने थिएनौँ सायद । हामी १०-१५ मिनेट भन्दा बढी त्यो बजार क्षेत्रमा भुलेनौँ । त्यो बजार रहेको क्षेत्रमा वि.सं. २०५३ सालमै नगरपालिका स्थापना भएको रहेछ ।

हामी यसपछि लगभग २० किलोमिटर उकालो र हल्का घुमाउरो बाटो हिँडेपछि सिन्धुली गढी पुग्ने रहेछौँ । हामी ढुङ्ग्रेबास हुँदै चियाबारी तर्फको बाटोबाटै उकालो लाग्यौँ । चियाबारीलाई बाइ बाइ गरिसक्दा उकालो पनि अलिक बेसी नै सुरु भयो । नागबेली बाटोले मनलाई रमाईलो बनाए पनि आँखा भने हल्का घुमे जस्तै हल्का असहज महशुस भयो । पुडासैनी सरले तपु दादालाई ५ मिनेट गाडी रोक्न लगाउनुभयो । म पनि पेम्बे दादा र पुरु सरसँगै गाडीबाट ओर्लेर विश्राम क्याफे एण्ड थकाली रेष्टुरेण्टमा दही र जेरी खान लाग्यौँ । घुमाएका आँखालाई दहीले ऊर्जा प्रदान गर्यो भने जेरीले भोक समेत मेटायो । पेम्बे दादाले बाथरुम गएर हात धुने पानी नपाएर यताउती पानीको खोजीमा भौँतारिएका देखेर मैले गाडीमा राखेको मिनरल वाटरको बोटल दिएँ । पेम्बे दादाले खुसीले हाँस्दै त्यी भएका आँखा पनि चिम्लिए, कहीँ अप्ठेरो ढीक, भिरमा त पेम्बे दादालाई हँसाउनु हुँदैन, तिनले हाँस्दा आँखा चिम्लिए भने लड्लान् भन्ने डरले मेरो मनमा बास बस्यो । पेम्बे दादा नयाँ ठाउँ घुम्न पाएकोमा आफ्नै मनलाई धन्यवाद दिँदै थिए भने पुरु सर र पुडासैनी सर नयाँ ठाउँको बारेमा उत्सुक भएर त्यहाँको बस्तुस्थिति बारे जान्ने ध्ययेले यता उता आँखा घुमाइरहनुभएको थियो । उता तपु दादा भने फोनमा व्यस्त थिए ।

केही मिनेटको विश्राम र खाजासँगै विहानको १० बजेको थियो । हामी सेल्फी डाँडा पुग्यौँ । ठाउँको नामको नै इज्जत राखिदिन भए पनि एक-एक वटा सेल्फी साथै ग्रुप तस्बीर लिई हामीले फेरि पनि गन्तव्यलाई पछ्याउँदै अघि बढ्यौँ । सोला भञ्ज्याङ्ग नजिकै हामीले बि.पि. राजमार्ग छोडेर सिन्धुली गढी युद्ध संग्रहालय तर्फ अघि बढ्यौँ ।

महाभारत श्रृखलाको लगभग ४६४८ फिटको उचाईमा रहेको एतिहाँसिक सिन्धुलीगढी किल्ला सदरमुकाम सिन्धुलीमाढीवाट करिव १६ किलोमिटर उत्तर र राजधानीबाट १ सय ४० किलोमिटर पूर्वमा रहेको बारे बुझियो । विक्रम संम्बत २०१९-२० सालसम्म सिन्धुली गढी पूर्व दुई नम्बर क्षेत्रको प्रशासकीय केन्द्रको रुपमा परिचित रहेको कुरा थाहा भयो र सिन्धुलीगढी ऐतिहासिक दृष्टिले समग्र नेपालको इतिहाँसमा महत्वपूर्ण स्थान रहेको बारेमा जान्ने अवसर मिल्यो ।

नेपाल एकीकरणको समयमा काठमाडौँका तत्कालीन राजा जयप्रकाश मल्लको सहयोगार्थ गोर्खाली फौजलाई हमला गर्न भने आएको इस्ट इन्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा २४०० बन्दुकधारी अंग्रेज फौज पटना जनकपुर सिन्धुली हुँदै काठमाडौँ जाने क्रममा वि.सं. १८२४ आश्विन १५ गते सिकारी सरदार बसु गुरुङ र काजी श्री हर्ष पन्तको नेतृत्वमा फौजले ढुङ्ग्रेबास तर्फबाट तथा काजी वर्षराज पाण्डे र खजान्ची वीरभद्र उपाध्यायको नेतृत्वमा फौजको पौवागढी तर्फबाट चेपुवामा परी पौवागढी नजिक आइपुग्दै अंग्रेजी फौजलाई आक्रमण गरेका थिए । उक्त लडाईँ कालीवंश, श्रीनाथ गोरख कम्पनी (हाल पुरानो गोरखगण), बर्जवाणी (हाल बदबहादुर गण) र सबूत कम्पनी (हाल सरोजगण) का वीर गोर्खाली सेनाको खुकुरी लगायतका सामग्रीहरुबाट नेपाली वीर पुर्खाहरुले युद्धलाई सफल बनाउनका लागि लागिपरेका थिए । ऐतिहासिक लडाइँमा केही विकसित भनिएका वा शक्तिशाली नामले परिचित राज्यका सैनिकहरूसँग नेपालीहरू लड्न भिड्न उनीहरूका अत्याधुनिक हतियारहरुसँग नेपालका खुँडा, धनुकाण, घुँएत्रो र अरिङ्गाल जस्ता घरेलु हतियार प्राकृतिक चिज वस्तुहरूको मद्दतले लडाईमा होमिएका थिए । नेपाली वीरताका गाथा त्यत्तिकै गाइँदैन। वीरहरूको पसिनाले बनाएको नेपाल जो ऐतिहासिक लडाई सिन्धुलीगढीमा पर्दछ। विक्रम सम्वत १८२४ मा आएका ती २४०० फौजहरुमध्ये १६ सय अंग्रेजी फौजलाई मारेर पराजित गरेका थिए ऐतिहासिक सिन्धुली गढीको लडाईबाट करिब ४०० देखि ५०० बन्दुक र केही तोपहरु समेत हात पार्न गोर्खाली फौज सफल भएका थिए । गोर्खाली फौज सिन्धुलीको लडाई अङ्ग्रेजी फौजलाई पराजय गर्न सफल भएको थियो। सिन्धुलीगढीको लडाईलाई नेपाली इतिहासमा सुनौलो रुपमा हेर्न सकिन्छ ।

हामी सिन्धुली माडी देखि केही उकालो बाटो हिँडिसकेपछि सिन्धुली गढी पुग्न अँझै केही समय लाग्ने थियो, त्यहाँ भद्रकाली मन्दिर रहेछ । मन्दिर जानको लागि सिँढी र रेलिङ्ग लगाएको अनि रेलिङ्गमा रङ्ग लगाएर मन्दिर जाने बाटो साँचिकै सुन्दर देखिन्थ्यो । त्यो मन्दिर पृथ्वीनारायण शाहले यदि अंग्रेजहरुले आक्रमण गरेमा पनि नेपालको विजय प्राप्त होस् भनी भद्रकाली मन्दिर आफैँ स्थापना गर्नुभएको हो रे । त्यो मन्दिरमा एउटा महत्वपूर्ण ताम्रपत्र थियो रे तर २०३१ सालमा त्यो ताम्रपत्र चोरी भएको कुरा बुझियो । हामी सिन्धुली गढी प्रवेश द्वार लेखेको गेट नजिक पुग्यौँ । त्यो गेटको दुबै खम्बामा सैनिकहरुको आकृति बनाइएको थियो जसमा सैनिकको साथमा बन्दुक हतियार समेत थियो । त्यो प्रवेशद्वार बाटोको छेउमै थियो । सिन्धुलीको सान नै रहेछ जुनार, सिन्धुली गढीको प्रवेश द्वारको नजिकै राखेका ठेला पसलहरुमा पहेँलै देखिन्थ्यो जुनार । दिउँसोमा कराउने झ्याउँकिरीको आवाजले हो-हल्ला भएको सहरदेखि निकै नै सुन्दर र रमणीय स्थानमा पुगेको भान हुँदैथियो । त्यहाँका स्थानीयहरुबाट यो थाहा भयो कि, पहिले मानिसहरु सिन्धुली गढीमा नै बसोबास गर्ने रहेछन् । सिन्धुली माडीमा भने औलो रोग लाग्ने कारणले बसोबास नगरेका रहेछन् । अंग्रेज सेनाहरुलाई यहीँ गढी स्थानबाट ढुङ्गा गुल्ट्याउने, अरिङ्गाल जिस्काउने गरेर युद्धमा विजय प्राप्त गरेको कुरा स्थानीयहरुबाट सुनियो । गढीभित्र जाने बाटो पनि कालोपत्रे नै थियो । त्यहाँको दायाँ सिँढीबाट सानो गढी जाने रहेछ र बायाँतर्फको बाटोबाट ठूलो गढी जाने रहेछ । नेपालीहरु मात्र नभएर त्यहाँ अनेकौँ देशबाट आएका बाह्य पर्यटकहरुको समेत आवागमन देख्यौँ । पुडासैनी सर र पुरु सरले उत्सुकताका नजरले यताउता हेर्दै डायरीमा समेत के-के लेख्दै हुनुहुन्थ्यो । म पनि विभिन्न स्थानका तस्बीरहरु लिँदै थिएँ । तपु दादा गाडीको ढोका लक गरेर चाबी पाइन्टको बेल्ट घरमा झुण्डाएका थिए । हामीहरुले त्यहाँ फोटो लिने काम गर्यौँ । सिन्धुलीको त्यो सडक देखेर मेरो मन युरोप टुअरमा निस्केको जस्तो लागिरहेको थियो । त्यहाँ पार्किङ्ग क्षेत्रमा सयौँको सङ्ख्यामा गाडीहरु पार्किङ्ग गरिएका थिए । त्यसपछि हामी सिँढी चढेर उकालो लाग्यौँ । बाटाका वरीपरी उत्तिसका रुखहरु थिए । त्यी उत्तिसका रुखहरुमा वीर गोर्खाली योद्धाका तस्बीरहरु झुण्ड्याइएको थियो । हामी सानो गढीको टपमा पुग्दा ढुङ्गाको पर्खाल लगाइएको संरचना देखियो । बीचमा गोलो चौर र वरीपरी ढुङ्गाको पर्खाल बाहेक अरु हेर्नको लागि त्यति धेरै चिज केही देखिएन । यहाँबाट उत्तरतर्फ हिमालको दृष्य देखियो । त्यहाँ राखिएको राष्ट्रिय झण्डा समेत देखियो । त्यसपछि हामी ठूलो गढी तर्फ लाग्यौँ । बाटामा धेरै वीर गोर्खालीहरुका फोटोहरु राखिएका थिए । त्यहाँ एउटा ठूलो ढुँङ्गामा पृथ्वीनारायण शाहको तस्बीर पेन्ट गरिएको थियो । हामीहरुले त्यहाँ तस्बीर लियौँ । राम्रो र सुन्दर पार्क पनि बनाइएको थियो । त्यहाँ केही सैनिकहरु सुरक्षा तथा सरसफाईमा व्यस्त देखिन्थे । त्यहाँ एउटा ठूलो ढुङ्गामा खोपेर गोर्खाली फौँजहरुले पानी खानको लागि इनार जस्तो बनाएको देख्यौँ । हामी फेरि पनि उकालो लाग्यौँ । ठूलो गढीमा पानी भण्डारण गर्नको लागि ढुङ्गामा खाल्डो नै पारिएको थियो । त्यो कुवा जस्तो आकृतिमा पानी समेत थियो । त्यहाँ मानिसहरुले दक्षिणा स्वरुप नगद र सिक्का चढाएको पनि देखियो ।

वर्तमान नेपालमा सिन्धुलीगढीमा ऐतिहासिक महत्व विलुप्त भएको छ । त्यहाँ आश्विन शुक्ल सप्तमी तिथिमा बडा दशैंको फूलपाती बढाई सेलाएको छ । त्यहाँको पुरातात्विक तोप निष्क्रिय राखिएको छ । भैरवनाथ तोप ठूलोगढीमा उत्तरपटी फर्काएर पड्काईन्थ्यो भने काली तोप सानोगढीमा दक्षिणपटी फर्काएर पड्काईन्थ्यो । सिन्धुलीगढी भन्ने वित्तिकै नेपालको सानको रुपमा रहेको थियो । तर आजभोलि ऐतिहासिक सिन्धुलीगढी भग्नाबशेषमा सिमित रहन पुगेको छ । भत्किएको दरबार दयनीय अवस्थामा छ । सिन्धुलीगढीलाई प्राचिन स्वरुपमा जिउँदो उदाहरण बनाउन सकिएको खण्डमा सिन्धुलीको विकासको उसकै आम्दानीले पुग्नेछ । विश्वमा साम्राज्य कायम गर्दै हिड्ने अँग्रेजको सेखी झरेको दिन १८२४ मा कर्तिक २४ गतेको महत्व उज्यालिन्छ ।

त्यसपछि हामीहरुले सिन्धुली गढीलाई विदाइ गर्दै काभ्रे जिल्ला तर्फ लाग्यौँ । काभ्रे जिल्लाका सडकका विभिन्न भित्ताहरुमा ऐनाहरु राखिएको थियो । काभ्रे पलाञ्चोक भनेर सानो हुँदा खेरि पुस्तकमा पढेको आज काभ्रेमा पुग्दा मलाई रमाइलो अनुभूति भइरहेको थियो । काभ्रेलाई किन धुलिखेल भन्दा रहेछन् भन्ने कुरा आज हामी चढेको गाडी धुलाम्मे भइसकेपछि मात्र थाहा भयो । हामी गाडीभित्र नभएर बाहिर भएको भए आफूले आफैँलाई बाहेक एकापसमा समेत कुन चाहीँ पेम्बे दादा, कुन चाहीँ म, कुन चाहीँ तपु दादा र दुइजना सरहरुलाई समेत चिन्न गाह्रो हुने खालको धुलो थियो । धुलिखेलको धुलाम्मे प्रसङ्ग चाहीँ मलाई पुडासैनी सरले बताइसक्नुभएको थियो । वास्तवमा उहाँले उक्त स्थानको वस्तुस्थिति, भुगोल बुझ्नुभएको र केही वर्ष काभ्रेमा विताउनुभएको रहेछ । उहाँका काभ्रे छँदाका रमाइला समयहरु हाम्रा माझ साझा गर्दै गर्नुभयो । यस्तै यस्तै विभिन्न प्रसङ्गहरुसँगै हामी काठमाडौँ उपत्यकाको अस्त, व्यस्त, भिडभाड भए पनि निर्जन सहरको गुञ्जाएमान भिडसँगै सहरबीचमा विलय भयौँ ।

  • समसामयिक लेखक डुङ्गेश्वर गाउँपालिका, वडा नं. ५ निवासी दिपेन्द्रकेशर खनाल हुनुहुन्छ ।

 

 

Translate »