अधिवेशन तोकिएकै समयमा हुन्छ : नेपाली काँग्रेसका महामन्त्री थापा

सल्यान । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीको अधिवेशन तोकिएकै समयमा हुने बताएका छन् ।
शनिबार सल्यानमा आयोजित जिल्ला सम्मेलनलाई सम्बोधन गर्न आउने क्रममा सल्ली बजारमा आयोजित स्वागत कार्यक्रममा काँग्रेसले देशलाई सम्हाल्ने जिम्मेवारी लिएको र पार्टीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता उनले व्यक्त गरे । सबै दलसँग सहकार्य गरेर अघि बढ्ने कांग्रेसको योजनामा रहेको बताउँदै थापाले कांग्रेस सबै दलहरूसँग मित्रता कायम गर्दै पार्टी विरुद्ध फैलिएका भ्रम चिर्न केन्द्रित हुने बताए ।

महामन्त्री थापाले कांग्रेसको नेतृत्वमा देशलाई तीव्र विकासको दिशामा लैजाने योजना रहेको जिकिर गरे । ‘हामी बेरोजगारी घटाउन चाहन्छौं, शिक्षा र स्वास्थ्य सुधार गर्न चाहन्छौं, आम नागरिकको आयस्तर वृद्धि गर्ने उद्देश्यसहित अघि बढिरहेका छौं,’ उनले भने ।
देशभर रोकिएको विकासलाई पुनः गतिमा लैजानुपर्ने र त्यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर आवश्यक स्रोत जुटाउनेतर्फ लागिपर्ने थापाको भनाई छ । अहिले काँग्रेसले कसैलाई दोष दिने ठाउँ छैन, आफैले गर्नुपर्ने समय आएको उनले बताए ।