कोहलपुरमा प्रहरी कल्याणकारी कोषबाट पेट्रोल पम्प सञ्चालन

नेपालगन्ज । बाँकेको कोहलपुरमा प्रहरी कल्याणकारी कोषबाट पेट्रोल पम्प सञ्चालनमा आएको छ । प्रहरी प्रमुख आइजीपी बसन्तबहादुर कुँवरले कोहलपुरस्थित प्रहरीको पेट्रोल पम्पको सोमबार उद्घाटन गरेका हुन् ।
पेट्रोल पम्पको उद्घाटन गर्दै आईजीपी कुँवरले कोहलपुरमा थपिएको प्रहरीको नयाँ पेट्रोल पम्पले जनतालाई सहज सेवा दिने बताए । उनले बाँकेभर रहेका प्रहरी कर्मचारीहरूलाई इमानदारिताका साथ कार्य गर्न समेत निर्देशन दिए ।

बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रममा प्राविधिक डीएसपी इन्जिनियर रोशन सारुले निर्माण प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल लगायतले आफ्नो भनाई राख्दै पेट्रोल पम्पले सहजरूपमा जनतालाई सेवा दिने विश्वास व्यक्त गरे ।
पेट्रोल पम्प उद्घाटनमा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, लुम्बिनी प्रदेश प्रहरी अस्पतालकी प्रमुख एसएसपी दिपा न्हुच्छे प्रधान, एसएसपी राजेन्द्रप्रसाद धमला, बाँकेका सुरक्षा निकायका प्रमुख, पूर्व प्रहरी कर्मचारी, नेपाल पेट्रोल एसोसिएसनका अध्यक्ष, नेपाल पत्रकार महासङ्घ बाँकेका प्रतिनिधि, विभिन्न स्थानीय तहका जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रमुख एवं पदाधिकारी, मिडियाकर्मी लगायतको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी दानबहादुर कार्कीले प्रहरी प्रमुख कुँवरलाई कृतज्ञताको चिनो प्रदान गरेका थिए ।