नेपालको निर्यात व्यापार बढ्दै

काठमाडौं । नेपालको निर्यातमा व्यापार कात्तिक महीनायता बढ्‌दै गएको छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (आव) को माघ मसान्तसम्ममा नेपालबाट रू. एक खर्ब २७ अर्ब २० करोडको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ४६ दशमलव ५० प्रतिशतले बढी हो । गत पुससम्ममा निर्यात व्यापार गत आवको सोही अवधिको तुलनामा ३१ दशमलव ७८ प्रतिशत र मंसिरसम्ममा १६ दशमलव ५४ प्रतिशतले बढेको थियो ।

यस्तै कात्तिकसम्मको निर्यात व्यापार गत आवको सोही अवधिको दाँजोमा ४ दशमलव १६ प्रतिशतले बढेको थियो । त्यसअघिका तीन महीना साउन, भदौ र असोजमा निर्यात व्यापारको वृद्धिदर भने ऋणात्मक थियो । माघसम्ममा नेपालले बढी निर्यात गरेका वस्तुहरूमा भटमासको तेल पहिलो स्थानमा छ । सो अवधिमा भटमासको तेल रू. ३२ अर्ब ४१ करोड बराबरको निर्यात भएको छ ।

त्यसैगरी रू. ६ अर्ब ५७ करोड ६७ लाखको सूर्यमुखी तेल, रू. पाँच अर्बको कार्पेट, रू. तीन अर्ब १० करोडको धागो र रू. तीन अर्ब बराबरको चिया निर्यात भएको विभागको तथ्यांकले देखाएको छ । चालू आवको ७ महीनामा आयात भने गत आवको सोही अवधिको तुलनामा १० दशमलव शून्य ९ प्रतिशतले बढेको छ । यस्तै कुल वैदेशिक व्यापार १३ दशमलव ३० प्रतिशतले बढेको छ ।

माघ मसान्तसम्ममा कुल रू. ११ खर्ब १५ अर्ब ७९ करोडको वैदेशिक व्यापार भएको छ, जसबाट रू. आठ खर्ब ६१ अर्ब ३८ करोड व्यापार घाटा रहेको छ । कुल वैदेशिक व्यापार घाटा गत आवको सोही अवधिको तुलनामा ६ दशमलव २० प्रतिशतले बढेको छ । सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग मात्र नेपालको रू. चार खर्ब ९८ अर्ब ३४ करोड व्यापार घाटा रहेको छ । माघ मसान्तसम्ममा भारतबाट रू. पाँच खर्ब ९६ अर्ब ३५ करोडको वस्तु आयात हुँदा रू. ९८ अर्ब बराबरको निर्यात भएको हो ।

त्यस्तै, चीनसँगको व्यापार घाटा रू. एक खर्ब ९० अर्ब ४४ करोड बराबर छ । पछिल्लो सात महिना अवधिमा चीनबाट रू. एक खर्ब ९२ अर्ब ४५ करोडको वस्तु आयात हुँदा रू. दुई अर्बको मात्रै निर्यात भएको छ । अर्जेन्टिना, युक्रेन, संयुक्त अरब इमिरेट्स, अस्ट्रेलियालगायत मुलुकसँगको व्यापार घाटा उच्च छ ।

माघसम्ममा ३५ ओटा मुलुकसँग मात्र नेपालको व्यापार बचतमा छ । चालू सो अवधिमा नेपालको सबैभन्दा धेरै व्यापार बचत अफगानिस्तानसँग छ । अफगानिस्तानबाट सात महीनामा रू। एक करोड २४ लाखको आयात हुँदा रू. ५९ करोड ४५ लाखको निर्यात भएको छ । त्यसपछि डेनमार्क, रूस, अस्ट्रिया, नर्वे, माल्दिभ्सलगायत देशहरूसँग व्यापार बचत बढी रहेको छ । आर्थिक अभियान

Translate »