एमाले पञ्चपुरी नगर स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि शुरु

बाबियाचौर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुर्खेत पञ्चपुरी नगर स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम कार्यक्रम शुरु भएको छ ।
एमालेको जरा केन्द्रीत पार्टी निर्माण अभियान अन्तर्गत दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आज बाबियाचौरमा नेकपा एमाले केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला ईन्चार्ज नवराज रावतले उद्घाटन गरेका छन् । दुई दिनसम्म चल्ने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पञ्चपुरी नगरपालिका स्तरीय १ सय २५ जना अगुवा नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य नवराज रावतले पार्टीको वैचारिक कामलाई व्यवस्थित बनाउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए । पार्टी भित्र वैचारिक र राजनीतिक कामलाई प्राथमिकता दिन पार्टीले देशभरी जरा केन्द्रीत प्रशिक्षण कार्यक्रम शुरु गरेको उनले बताए ।
जरा केन्द्रीत कार्यक्रम अन्तर्गत पञ्चपुरी नगरपालिकामा पनि प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको रावतले जानकारी दिए । तालिमले नेता कार्यकर्तामा वैचारिक र सैद्धान्तिक भोक जगाउने काम गर्ने उनले विश्वास लिए । एमालेले वडा तहमा पार्टी सदस्यता र मत बढाउन जरा केन्द्रीय अभियान प्रभावकारी हुने उनको भनाइ छ ।

प्रशिक्षकहरू तयार भएपछि वडा र टोलसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन हुने उनले जानकारी दिए । यसले एमाले विरुद्ध लगाइएका आरोपको खण्डन गर्ने र वैचारिक रूपले सबल कार्यकर्ता पङ्ती तयार हुने उनले बताए । हामीले हाम्रो अध्ययनको दायरा बढाउन आवश्यक छ, सकारात्मक आलोचनाको क्षमता बढाउन जरुरी छ’, उनले भने ।
नेकपा एमाले पञ्चपुरी नगरपालिकाका अध्यक्ष भिमबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटा, उपाध्यक्ष मोहनसिंह बडुबाल, जिल्ला कमिटी सदस्य धनबहादुर थापा र कविन्द्रकुमार केसी, एमाले कर्णाली प्रदेश कमिटी सदस्य धर्मराज ढुङ्गाना, पूर्व सदस्य धिरबहादुर शाही, प्रदेश सल्लाहकार सदस्य रेशम राना, कमिटीका नेताहरु लगायतको सहभागिता रहेको छ ।
दुई दिनसम्म चल्ने सो प्रशिक्षण कार्यक्रममा विभिन्न ११ वटा विषयमा प्रशिक्षण दिइने पार्टी स्कुल विभागले जनाएको छ । नगर स्तरीय स्तरको प्रशिक्षण सकिएपछि पालिकाका ११ वटै वडा तथा टोल स्तरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने एमाले पञ्चपुरी नगर अध्यक्ष भिमबहादुर रावतले जानकारी दिए ।