प्रतिबन्धित औषधिसहित तीन जना पक्राउ

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज भन्सार क्षेत्रबाट प्रतिबन्धित औषधिसहित तीन जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय जयसपुरबाट प्रहरी नायब निरीक्षक निरज सिंहको कमान्डमा खटिएको टोलीले शनिबार साँझ नेपालगन्ज(१६ भन्सार चोकबाट ५ हजार ट्याब्लेट ट्रामाडोलसहित २४ वर्षीय नफिस कबडिया, ३८ वर्षीय जियाउल शेष र १८ वर्षीय सद्दाम सैयदलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

भारतको रुपैडिहाबाट नेपालगन्ज आउँदै गरेको युपी ४० आर ७१४५ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूबाट ट्रामाडोल बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये नफिस नेपालगञ्ज–१६, का स्थानीय हुन् भने जियाउल भारतको कलकत्ताका र सद्दाम भारतको जागोरका बासिन्दा हुन्। हाल जियाउल र सद्दाम नेपालगञ्ज–१० ट्राफिक चोकमा बस्दै आएका थिए।
प्रहरीका अनुसार उनीहरू लागुऔषध तथा प्रतिबन्धित औषधिको कारोबारमा संलग्न रहेको आशंका गरिएको छ। पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।