एमालेलाई बलियो बनाउन ‘जरा केन्द्रित’ अभियान : एमाले सुर्खेत अध्यक्ष देवकोटा

बाबियाचौर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले एमाले पार्टीलाई बलियो बनाउनका लागि ‘जरा केन्द्रित अभियान’ सञ्चालन गरेको बताएका छन् ।
पश्चिम सुर्खेतको बाबियाचौरमा आइबार पञ्चपुरी नगर स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष देवकोटाले जरा केन्द्रित अभियानको मिसन २०८४ सालमा हुने निर्वाचनमा एमालेलाई निर्णायक शक्तिका रुपमा स्थापित गर्ने रहेको बताए ।
मुलुक बनाउनका लागि बलियो राजनीतिक दल आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष देवकोटाले एमाले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सक्ने क्षमता बोकेको पार्टी भएको बताए ।

‘जबसम्म पार्टी बलियो हुँदैन जनता बलिया हुँदैनन् । पार्टी बलियो नभई राज्य बलियो हुँदैन । त्यसैले लोकतन्त्रमा राज्य बलियो बनाउन बलिया पार्टी आवश्यक हुन्छन,’ अध्यक्ष देवकोटाले भने । उनले बलिया राजनीतिक दल निर्माण गरेर राज्यलाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनका अनुसार पार्टीलाई निर्णायक शक्ति निर्माण गर्ने यात्रामा जिल्लाका सबै नेता, कार्यकर्तालाई गाउँ वस्तीका टोल–टोलमा परिचालन गरिएको छ ।
‘जनताका चासो, माग र मुद्दामा जनसंगठनलाई प्रभावकारी ढंगले परिचालन गर्ने, विकास निर्माणका कार्य र जनताका ज्वलन्त समस्यालाई समाधान गर्न पहलकदमी लिने, वडा, पालिकाको विकासको मार्गचित्र निर्माण गर्ने ‘जरा केन्द्रित अभियान’ को उद्देश्य हो,’ उनले भने, ‘यो तीन महिने अभियानअन्तर्गत महिला, उत्पीडित समुदाय र नयाँ पुस्तामा पार्टी काम पुर्याउने कार्यलाई महत्व दिँदै चुनौतीहरूको सामना गर्न नवीन विचार दिनसक्ने नेता कार्यकर्ताहरूको उत्पादन गर्ने मेहनती, श्रमजीवी र जनपक्षीय नेता तथा कार्यकर्ता बनाउने लक्ष्य यो अभियानले राखेको छ ।’
उनका अनुसार ‘जरा केन्द्रित’ अभियान मुख्य गरी वडा र टोलमै केन्द्रित हुनेछ । उनले अभियानअन्तर्गत पार्टी सदस्यता नवीकरण, विस्तारमार्फत आधारभूत तहका पार्टी सदस्यताको वास्तविक तथ्यांक र पार्टीको अवस्था पत्ता लगाउने, आधारभूत राजनीतिक तथा सैद्धान्तिक प्रशिक्षण दिने उद्देश्य रहेको जानकारी दिए । जनप्रतिनिधि र जनताबीचको सम्बन्ध बलियो बनाउँदै नेता–कार्यकर्ता–जनताबीचको सम्बन्ध सुदृढ गर्ने एमालेको मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।