जनचाहना अनुसार नै संविधान संशोधन हुन्छ : शहरी विकासमन्त्री सिंह

सुर्खेत । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले स्थायी सरकार र दिगो विकासका लागि दुई दल मिलेर सरकार बनाउनु परेको बताएका छन् ।
नेपाल प्रेस युनियन सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले जनचाहना अनुसार संविधान संशोधन गर्दै स्थायी सरकार निर्माणका लागि नेपाली काँग्रेस–नेकपा एमाले मिलेर सरकार बनाउनु परेको बताएका हुन् ।

सेवा प्रवाहमा देखिएको असहजतालाई सहज बनाउन अध्यादेश ल्याइएको दाबी गर्दै उपप्रधानमन्त्री सिंहले केही दिनभित्रै अध्यादेश पारित हुने दावी गरे । उनले अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरिरहेकाले सोचे अनुसार काम हुन नसकेको पनि स्वीकार गरे ।
प्रधानमन्त्रीसँग भएको कार्य सम्पादन मूल्यांकन अनुसार मन्त्रालयहरुले काम गरिरहेको बताउँदै उपप्रधानमन्त्री सिंहले विधान र संविधानको परिधिभित्र रहेर नेपाली काँग्रेसको पार्टी अधिवेशन हुने पनि स्पष्ट पारे ।
पार्टीभित्र प्रतिस्पर्धा हुनु स्वाभाविक रहेको बताउँदै प्रतिस्पर्धा विधि र विधानअनुसार हुनु विश्वास उहाँले व्यक्त गरे । पार्टीलाई बलियो बनाउन महाधिवेशनलाई अवसरका रुपमा लिनुपर्ने उनको भनाई छ ।