सञ्चारिका समूह कर्णालीको अध्यक्षमा पुनः वली

सुर्खेत । सञ्चारिका समूह कर्णाली प्रदेशको अध्यक्षमा पुनः सिता वली चयन भएकी छन् । शनिबार वीरेन्द्रनगरमा सम्पन्न तेस्रो अधिवेशनले वलीको नेतृत्वमा सर्वसम्मत १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
यस्तै उपाध्यक्षमा कृष्णमाया उपाध्याय (जुम्ला), महासचिवमा सिर्जना बुढाथोकी (सुर्खेत), सचिवमा रजनी योगी (दैलेख) र कोषाध्यक्षमा कोमल शाही (सुर्खेत) चयन भएका हुन् ।
यस्तै सदस्यहरुमा अनिता बि.क. (सुर्खेत), सरस्वती गिरी (जाजरकोट), सरीता चलाउने (सल्यान), सोनिया मल्ल (रुकुमपश्चिम) लगायत चयन भएका छन् । अन्य जिल्लाहरुमा भने समितिलेनै सदस्यहरु मनोनित गर्ने निर्णय भएको महासचिव सिर्जना बुढाथोकीले जानकारी दिईन् ।
अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णुप्रसाद शर्माले सञ्चारिका समूहले कर्णाली प्रदेशमा महिलाहरुको हित र संरक्षणमा काम गर्नुपर्ने बताए । उनले सञ्चारिका समुहलाई पत्रकार महासंघ कर्णाली प्रदेशले सँगसँगै लिएर जाने बताए ।

पत्रकार महिलाहरुको राम्रो नेतृत्व विकासका लागि सञ्चारिका समूहको भूमिकाअतुलनिय रहेको उनले बताए । नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशिलराज शर्माले पत्रकार महिलाहरु पेशामा टिकिराख्नका लागि सञ्चारिकाले समेत काम गर्नुपर्नेमा जोड दिए ।
सञ्चारिका समूहका सल्लाहाकार टिका विष्टले महिला आन्दोलन विशेष गरि पत्रकार महिलाहरुको पेशागत संरक्षणका लागि सञ्चारिका समूहको महत्वपूर्ण भूमिका भएको भन्दै नयाँ नेतृत्वले सक्रियताका साथ काम गर्नुपर्ने धारणा राखिन् । उनले सबैलाई समेटेर र सबैसँग सहकार्य गरेर मात्रै सञ्चारिका समूह सफल हुने धारणा राखिन् ।