लगानीमैत्री वातावरण बनाई दिन कर्णालीका उद्योगी तथा व्यवसायीको माग

सुर्खेत । कर्णालीका उद्योगी, व्यवसायीले लगानीमैत्री वातावरण बनाई दिन सरकारसँग माग गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेशको आज सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको आठौं प्रदेश सभाका सहभागि उद्योगी व्यवसायीले लगानीको वातावरण बनाउन निर्यातजन्य र उत्पादनमुखि उद्योगमा जोड दिन सुझाव दिएका हुन् । महासंघको आठौं प्रदेश सभालाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कोषाध्यक्ष निरक केसीले बैंकको अस्वाभाविक व्याजदरमा पछिल्लो समय सुधार आएपनि उद्योगी व्यवसायीले लगानीको जोखिम लिन नसकेको बताए ।

उनले निजी क्षेत्र ‘कम्फटेवल’ नहुँदासम्म लगानीको वातावरण बन्न नसकिरहेको तर्फ तत्काल सरकारको ध्यान पुग्न आवश्यक रहेको औल्याए । उनका अनुसार देशभर रहेका उद्यम तथा उद्योगहरु अहिले ३० देखि ४० प्रतिशत क्षमताले मात्र सञ्चालन भईरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले कर्णालीमा पर्यटन, जडिबुटी, जलविद्युत र खनिजमा सम्भावना रहेपनि सरकारी नीति स्पष्ट नहुँदा नीजि क्षेत्रको लगानी भित्रिन नसकेको बताए ।

उनले कर्णाली प्रदेशमा सम्भावना मात्र देखाउने नीति भन्दापनि उद्योगधन्दाका लागि चाहिने आवश्यक पूर्वाधार निर्माणतर्फ सरकारको ध्यान पुग्न आवश्यक रहेको जनाए । सुर्खेत उद्योग वाणिज्य महासंघका अध्यक्ष लक्ष्मण कँडेलले आफ्नै श्रम तथा स्थानीय उत्पादनमा आधारित उद्योगलाई सरकारले विशेष प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

उनले बैंक तथा वित्तिय संस्थाको कर्जालाई उत्पादनमुलक क्षेत्रमा प्रवाह गरेर स्वदेशी उद्योगहरुको प्रवद्र्धनमा टेवा पुग्ने बताए । कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले सरकार उद्योगी तथा व्यापारीको पक्षमा रहेको उल्लेख गर्दै आउँदो आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम मार्फत धेरै समस्याहरुको समाधान हुने प्रतिवद्धता जनाए ।

उनले प्रदेश सरकार व्यावसायिक वातावरण सृजना गरी राजश्व बृद्धिसँगै उद्योगी व्यवसायीका समस्यालाई प्राथमिकता राख्ने दावी गरे ।

 

 

Translate »