वैशाख ७ गतेदेखि कमलबजार विमानस्थलमा व्यावसायिक उडान हुँदै

अछाम । कमलबजार विमानस्थलमा वैशाख ७ गते पहिलो व्यावसायिक उडान हुने भएको छ ।

कमलबजार नगरपालिका, मङ्गलसेन नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, रामारोशन गाउँपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकाको संयुक्त पहल र सहयोगमा कमलबजार विमानस्थल सञ्चालन गर्न लागिएको कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले बताए ।

वैशाख ७ गते आइतबारबाट पहिलो व्यावसायिक उडान सुरु हुँदैछ । यस अघि फाल्गुन २५ गते देखि नियमित उडान हुने भनिए पनि सो दिन मौसम प्रतिकुल भएपछि पहिलो उडाननै अवरुद्ध भएको थियो ।

निमार्ण कार्य थालनी भएको ३२ वर्षपछि गत पुस १३ गते तारा एयरको विमानले कमलबजार विमानस्थलमा परीक्षण उडान गरेको थियो । हाललाई हप्तामा एक दिन, आइतबार मात्र उडान हुने सम्झौता भएको नगरप्रमुख ढकालले जनाए ।

काठमाडौं–कमलबजार, कमलबजार–काठमाडौंको लागि रु. ११,००० र नेपालगञ्ज–कमलबजार, कमलबजार–नेपालगञ्जको लागी रु. ६,५०० भाडा दर कायम भएको छ ।

हवाई यात्रा मार्फत काठमाडौं–कमलबजार, नेपालगञ्ज–कमलबजार, कमलबजार–काठमाडौं वा कमलबजार–नेपालगञ्ज जान चाहने इच्छुक महानुभावहरूले Yati Airlines को वेबसाइटमार्फत टिकट बुक गर्न सकिने बताइएको छ ।

यात्रुको सहजताका लागी निकट भविष्यमा ई–सेवा र खल्ती एप मार्फत समेत टिकट काट्ने व्यवस्था मिलाइने गरि तयारी भइरहेको नगर प्रमुख ढकालले जानकारी दिए ।

Translate »