५ करोड ९१ लाखको अवैध सामग्री बरामद

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले एक वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ ।
२०८१ बैशाख १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा फरार प्रतिवादी नियन्त्रणदेखि लागूऔषध बरामद अभियान तथा कारोबारी पक्राउ लगायत जिल्लाको शान्ति सुरक्षामा तदारुकताका साथ लागेर अपराध नियन्त्रण तथा अवैध सामग्री बरामदका कार्य गर्दै आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यो अवधिमा बाँके प्रहरीले करोडौँ रुपैयाँको अवैध सामग्री बरामद गरेको छ ।

उक्त अवधिमा जिल्ला प्रहरी कार्यालय बाँकेले ६ सय १५ फरार प्रतिवादीलाई पक्राउ गर्दै ५ करोड ९१ लाख ५४ हजार ५३१ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गर्न सफल भएको बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए । यस्तै ट्राफिक कारबाहीतर्फ ३३ हजार ८५६ वटा सवारी साधनलाई कारबाही गरी रु. २ करोड ९२ लाख ८२ हजार राजस्व सङ्कलन गरिएको प्रहरी बताएको छ ।
अपराध अनुसन्धानतर्फको कारबाहीमा १६ सय ३२ वटा मुद्दा दर्ता भएकोमा १४ सय ७८ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेको भनाइ छ । यस्तै ५ सय ५४ वटा पेण्डिङ मुद्दाहरू फछ्र्यौट गरिएको छ । ६ सय १५ जना फरार अपराधी पक्राउ गर्दा २ करोड १४ लाख ४७ हजार ६७५ रुपैयाँ जरिवाना असुल उपर भएको छ ।