नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा हुनै लाग्दा चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

टिकापुर घट्नाका सन्दर्भमा सर्वोच्च अदालतबाट फैसला कार्यान्वयनका लागि अधिकृत खटिएकाले सोही आदेशअनुसार पक्राउ गरी डिल्लीबजार कारागार लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सादा पोशाकमा खटिएका सुरक्षाकर्मीले उनलाई प्रज्ञा भवनमै पुगेर पक्राउ गरेका थिए । २०७२ भदौमा टीकापुरमा भएको घटनाका कारण चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो । तर, २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले दिएको आममाफीका आधारमा उनी डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।

प्रहरी स्रोतका अनुसार आममाफीको फैसला सर्वोच्चले उल्ट्याएपछि उनलाई पक्राउ गरिएको हो । यसअघि यस्तै मुद्दामा राष्ट्रपति रामचन्द्र पौडेलले रिगल भनिने योगप्रसाद ढकाललाई गरेको कैद मिनाहालाई तत्काल बदर गर्न सर्वोच्च अदालतको पूर्ण इजलासले परमादेश गरेको थियो । साथै इजलासले रिगललाई पुनः पक्राउ गरी कारागार चलान गर्न पनि परमादेश दिएको थियो ।

Translate »