स्वास्थ्य बीमालाई नागरिकको योगदानमा आधारित हुने गरी व्यवस्थित गर्नुपर्दछ : मन्त्री पौडेल

बाँके । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई नागरिकको योगदानमा आधारित हुने गरी व्यवस्थित गर्नुपर्ने बताएका छन् ।
भेरी अस्पतालको जलन वार्ड तथा सर्किजल विङ्गको उद्घाटन तथा सिकलसेल र थालेसिमियाका बिरामीका लागि सङ्क्रामक रोगबाट बचाउन भेरी अस्पताललाई निःशुल्क खोप हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले योगदान गर्न सक्ने नागरिकलाई बीमाको दायित्वमा जोडेर वीमा प्रणालीलाई व्यवस्थित गर्नुपर्ने प्रस्ताव मन्त्रालयको रहेको जनाए ।
मन्त्री पौडेलले यो आर्थिक वर्षभित्र बीमाको सम्पूर्ण दायित्व फरफारक गर्ने योजनामा रहेको पनि बताए । उनले अहिलेकै मोडेलमा स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिए थेग्न नसकिने स्पष्ट पारे । भेरी अस्पताललाई थप व्यवस्थित र सुदृढ बनाउन मन्त्रालय लागिपर्ने उनको भनाइ छ ।

उनले बजेटको सीमितताका कारण चाहे जति काम गर्न सक्ने अवस्था नरहे पनि भेरी अस्पताल संघीय सरकारको प्राथमिकतामा रहेको जनाए । मन्त्री पौडेलले भेरीमा पछिल्लो समय थपिएका विशिष्टीकृत सेवालाई अझ प्रभावकारी बनाउन दरबन्दी सिर्जना गरिने बताए ।
भेरी अस्पतालमा ७ वटा कार्यक्रम थपिनु र १३ कार्यक्रम व्यवस्थित हुनु सुखद विषय भएको भन्दै मन्त्री पौडेलले जलन वार्ड सुरुवात हुनु अत्यन्त प्रशंसनीय काम भएको उल्लेख गरे ।
भेरी अस्पताल पश्चिम क्षेत्रको महत्त्वपूर्ण अस्पताल भएकाले बिरामीले भरोसा मान्ने गरी सरकार सेवा सुविधा विस्तारमा जुटेको उनको भनाई थियो ।