पुराना कानूनले जनताका अपेक्षा पुरा गर्न सकस भईरहेको छ : मुख्यमन्त्री कँडेल


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आवश्यकताको आधारमा पुराना ऐन कानून समय सापेक्ष परिवर्तन नहुँदा विकास निर्माणमा समेत समस्या भईरहेको बताएका छन् ।
आज सुर्खेतको वीरेन्द्रनगरमा ‘घुमौं सौराहा, चितवन अभियान २०२५’ लिएर आएको क्षेत्रीय होटल संघ चितवनको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले पुराना कानून परिमार्जन नहुँदा विभिन्न बाधा अड्चनहरु खेप्नु परिरहेको बताएका हुन् । उनले संघीय शासन व्यवस्था नयाँ, संरचना नयाँ निर्माण गरेपनि ती संरचनालाई निर्देशित गर्ने कानून पुराना भएकोले जनताको चाहना अनुसार काम गर्न समस्या भइरहेको जनाए ।
‘जनता र जनप्रतिनिधिको अपेक्षा अनुसार कानून नबन्दा समस्या भइरहेको छ,’ उनले भने, ‘समय सापेक्ष आवश्यकताका आधार ऐन, कानूनहरु परिवर्तन हुनुपर्ने हो, तर ढिलाई भईरहेको छ ।’ उनले कर्णालीमा पर्यटन क्षेत्रको संरचनात्मक विकासका लागि पर्याप्त बजेट नभएपनि उपलब्ध स्रोतसाधनबाटै थुप्रै काम गर्न सकिने अवसर भएपनि कतिपय पुराना कानूनले अवरोध पु¥याई रहेको बताए ।
‘पूर्वाधार अभावले मात्र कर्णाली पछाडी परेको भन्न नमिल्दैन्,’ उनले भने, ‘कर्णालीको जस्तो प्राकृतिक विविधता र सुन्दरता अन्त कतै नभएकाले ‘कर्णालीको विकल्प कर्णाली’ मात्र हुन सक्छ ।’ उनले कर्णालीमा राराताल, फोक्सुण्डो ताल, छायाँनाथ, बाला त्रिपुरासुन्दरीलगायत थुप्रै सम्भावनाले भरिपूर्ण क्षेत्र रहेको जनाए ।

पर्यटन क्षेत्रको विकासका लागि सरकारको मुख्य भूमिका रहेपनि यसको गतिलाई प्रभावकारी रुपमा अगाडि बढाउन निजी क्षेत्रको पहलकदमी र भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । उनले सरकार र कर्मचारीले मात्र विकास गर्नुपर्छ भन्ने मानसिकता त्यागेर विकास सबैको साझा विषय भएकाले सबै एकजुट भएमा निर्माणले सोचे झैं गति लिने बताए ।
कर्णाली प्रदेशको अन्तरिक आम्दानी र विकासका लागि पर्यटन प्रवद्र्धन मुख्य आधार रहेको बताउँदै उनले चितवनबाट कर्णालीसम्म आफ्नो व्यावसायिक महत्व झल्काउन आएका व्यवसायीलाई सहकार्य र समन्वयबाट अघि बढ्न सुझाव दिए । चितवनको सौराहामा पर्यटक बढाउन त्यहाँका व्यवसायीहरु अहिले ‘घुमौं सौराहा’ अभियान लिएर पश्चिम नेपालका विभिन्न स्थानहरुको दौरामा रहेका छन ।
क्षेत्रीय होटल संघ नेपालका अध्यक्ष ओमप्रकाश पाण्डे, महासचिव महेश खनाललगायतको टोलीले पछिल्लो समय सौराहा घुम्न आउने पर्यटक बढेपछि आफुहरु थप पर्यटक भित्र्याउन अभियान सञ्चालन गरिएको जानकारी दिए ।
कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय, नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीलगायतले चितवनको सौराहालाई कर्णालीको पर्यटन प्रवद्र्धनसँग जोड्न आग्रह गरे ।

