तरकारीमा विषादी

उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न सक्ने अत्याधिक विषादीयुक्त तरकारी सुर्खेतमा भित्रिन थालेपछि समस्या बनेको छ । मानव स्वास्थ्यमा हानिकारक ठहर्ने रासायनिक पदार्थ विषादीको अवैज्ञानिक प्रयोगले फाइदा भन्दा घाटा बढी हुन थालेपछि सर्वत्र चिन्ता र चाँसो बढ्नु स्वाभाविक हो । हरियो तरकारीमा विषादी प्रयोग बढेका कारण मानिसमा गम्भीर खालका रोग लाग्ने गरेको पाइन्छ । पछिल्लो समय सुर्खेतमा राष्ट्रिय उपभोक्ता मञ्चका उपभोक्ता अधिकारकर्मीको सक्रियतापछि वीरेन्द्रनगरमा भित्रिने र जिल्ला भित्रै उत्पादन हुने तरकारीमा भएको विषादी परीक्षणलाई बढाईएको छ । बुलबुले कृषि थोक बजारमा व्यवसायीहरुले भित्राइरहेको तरकारीमा अत्याधिक विषादी देखिन थालेपछि वीरेन्द्रनगर नगरपालिकाको समन्वयपछि केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले परीक्षणको दायरा बढाइएको हो । हालसम्म गरेको नमूना परीक्षणमध्य नौ ओटा तरकारीहरुमा अत्याधिक विषादी प्रयोग भएको पाईएपछि सचेतना स्वारुप विषादी मिलाईएका तरकारी नष्ट गर्ने अभियानलाई तीव्रता दिईएको छ ।

एकाइले हालसम्म १४१६ नमूना परीक्षण गरिसकेको छ । सुर्खेतमा प्रायः सल्यान, दाङ, बाँके, जुम्ला, चितवनसँगै सुर्खेतमै उत्पादन भएका तरकारी खानै नमिल्ने विषादीको मात्रा अत्याधिक पाईएको छ । काउलीमा ९९, काँक्रामा ५३ र टमाटरमा ६१ प्रतिशत अर्गानोफस्फेट नामक विषादी अत्यधिक भेटिएको छ । प्रयोगशालामा कार्बामेट र अर्गानोफस्फेट विषादीको कति प्रयोग भइरहेको छ भन्ने परीक्षण हुन्छ । सुर्खेत भित्रै र बाहिरबाट सुर्खेत भित्रने तरकारीमा यी दुई विषादीको प्रयोग सर्वाधिक भेटिने गरेको छ । मानव स्वास्थ्य, प्रकृति र वातावरणमा रासायनिक विषादीको हानिकारक असरका बारेमा अब थप कृषक, आमजनमानस (उपभोक्ता), विषादी विक्रेता सबैमा व्यापक जनचेतना अभिवृद्धि गर्नु आवश्यक छ । आमकृषक उत्पादक मात्र नभई उपभोक्ता पनि हुन् । कृषकलाई कृषक पाठशाला, कृषक दिवस, तालिम, परीक्षण पद्धति, सञ्चार माध्यमको प्रयोग, सूचना प्रविधिको व्यापक उपयोग गरी सुःसूचित गराउन जस्ता अभियानहरु सञ्चालन गर्दा पनि विषादी प्रयोग गर्नेको संख्या बढीरहेको छ । यो चिन्ताको विषय हो ।

रासायनिक विषादिले जनस्वास्थ्यमा गम्भीर असर पु¥याउने भएकाले यसको प्रयोग न्यूनीकरण अभियान नै थाले पनि उल्लेखनिय उपलव्धि हासिल गर्न सकिएको छैन् । विषादी प्रयोग नगरिनहुने हो भने सहरबजारमा सर्वसाधारण उपभोक्ताले उपभोग गर्ने तरकारीमा विषादीको मात्रा परीक्षण नभई बजारमा नजाने संयन्त्र विकास गरिनुपर्छ । जनताको स्वास्थ्यमा गम्भीर असर पर्ने यस्तो विषयमा खेलबाड स्वीकार्य हुनै सक्तैन । विषादीको नियमन र नियन्त्रण गर्ने काम सरकारले मात्र गर्न सक्दैन् । त्यसैले उपभोक्ता समेत जागरुक र सचेत बन्न अब ढिलाई गर्नु हुँदैन् । मूलतः कृषकले आफूले प्रयोग गरेका विषादीले आफ्नै सन्तानको स्वास्थ्यमा नानाथरीका जोखिम थोपर्नुका साथै यसको दुष्प्रभाव कुनै–न–कुनै तरिकाले स्वयम् उठाउनु पर्ने परिरहेको हुन्छ । विषादीको ओसारपसार र प्रयोगसम्बन्धी नियमन गर्न बनाइएका विद्यमान कानुनी प्रावधानको अक्षरशः पालना र समयानुकूल परिमार्जन गर्नु नितान्त आवश्यक छ । विषादी प्रयोग कानुनी र नैतिक दुवै सवाल भएकाले यसको नियमनमा सबै पक्षको जिम्मेवारी रहनु पर्छ ।

Translate »