बाँकेको नरैनापुरमा ९ जना कुष्ठरोगी फेला


बाँके। बाँकेको नरैनापुर गाउँपालिकामा सञ्चालन गरिएको एकदिने छालारोग परीक्षण शिविरमा ९ जना कुष्ठरोगी फेला परेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग फोकल पर्सन रविन्द्र कुमार शाहका अनुसार नरैनापुर–१ मा २३६ जनाको परीक्षण गर्दा ९ जनामा कुष्ठरोग पुष्टि भएको हो ।

कुष्ठरोग पुष्टि भएकामध्ये ८ जना पुरुष र एक जना महिला छन् । सबैको उमेर युवा समूहमा परेको छ। संक्रमितका परिवार र छरछिमेकको पनि परीक्षण गर्ने तयारी भइरहेको छ। शिविरमा परीक्षण गरिएकामध्ये कुल २६६ जनामा विभिन्न प्रकारका छालारोग देखिएका छन्।
फोकल पर्सन शाहका अनुसार कुष्ठरोगले छाला र नशामा असर पुर्याउने तथा समयमै उपचार नपाएमा अंगभंगसमेत हुन सक्ने खतरा रहन्छ। खुला सिमाना र भारतबाट आउने कामदारहरूमा छालासम्बन्धी समस्या बढी देखिने गरे पनि त्यसलाई एक मात्र कारण मान्न नमिल्ने शाहले बताए । नरैनापुरमा शिक्षा, स्वास्थ्य र खानेपानीको अभाव पनि छालारोगको कारक हुन सक्ने जनाइएको छ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रालय सचिव दुर्गा लक्ष्मी श्रेष्ठले नरैनापुरको मिश्रित अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयको विशेष चासो रहेको बताए । जनस्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठले समस्याको मूल कारण खुला सिमाना र दबिएको स्वास्थ्य अवस्था रहेको बताए ।

