विद्यालय आँखा परीक्षण कार्यक्रम : १५६ जना विद्यार्थीलाई निःशुल्क चस्मा

सुर्खेत । पश्चिम सुर्खेतका विद्यार्थीहरुको पढाई कमजोर हुनुमा दृष्टि सम्बन्धि समस्या देखिएपछि निःशुल्क चस्मा वितरण गरिएको छ ।
शैक्षिक गुणस्तर सुधारका लागि नेपाल रेडक्रस सोसाइटी सुर्खेतले आइकेयर फाउण्डेसन नेपालको सहयोगमा ‘विद्यालय आँखा जाँच कार्यक्रम’ मार्फत २४ वटा विद्यालयका १ सय ५६ जना विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरिएको हो ।
पञ्चपुरी नगरपालिका भित्रका ६१ वटा निजी तथा सामुदायिक विद्यालयका ६ हजार ५ सय ३१ जना विद्यार्थीको आँखा चेकजाँच गरिएकोमा ३ सय १८ जनामा दृष्टि कमजोरी भएको पहिचान गरिएको सुर्खेत आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत प्रेम दिक्षितले जानकारी दिए । उनले ती विद्यालयका विद्यार्थीको आँखाको दृष्टि परीक्षणका लागि ६१ जना शिक्षकलाई तालिम दिएर दृष्टि कमजोर छात्र तथा छात्राहरुको पहिचान गर्न सकिएको बताए ।
दृष्टि कमजोर पहिचान भएका विद्यार्थीलाई निःशुल्क चष्मा वितरण गरिएपछि विद्यार्थीको अध्ययनमा समेत निरन्तर सुधार भईरहको विद्याज्योति माध्यमिक विद्यालयका शिक्षक तथा रेडक्रस विद्यापुर शाखाका सभापति हिरामणि पौडेलले जानकारी दिए । सुर्खेतको बाबियाचौरमा आज विद्यार्थीलाई निःशुल्क चष्मा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पञ्चपुरी नगरपालिकाका मेयर लालविर भण्डारीले विद्यार्थीले चश्मा लगाएपछि सरले पढाएको र पाठ्यपुस्तकमा भएका अक्षर राम्रोसँग देख्नपाएपछि अध्ययनको नतिजामा समेत प्रभावकारी सुधार भईरहेको बताए ।
उनले नेपाल रेडक्रस सोसाइटी र आइकऐयर फाउण्डेसनले विद्यालयमा आँखा जाँच कार्यक्रममा सञ्चालन गरेर निःशुल्क चश्मा वितरण गरी विद्यार्थीको भविष्य सुधार्न ठूलो सहयोग गरेकोप्रति धन्यवाद व्यक्त गरे । कार्यक्रममा आइकेयर फाउण्डेसन नेपालका कन्ट्री म्यानेर अनिल गोरखालीले पछिल्लो समय बालबालिकामा बढ्दो दृष्टि सम्बन्धि समस्या निवारणका लागि तीनै तहका सरकारसँग हातेमालो गरेर ‘विद्यालय आँखा जाँच कार्यक्रम’ लाई निरन्तरता दिन आवश्यक रहेको औल्याए ।

उनले समयमै उपचार हुन सके बालबालिकाको ८० प्रतिशत दृष्टि सम्बन्धि समस्या निवारण गर्न सकिने जनाए । त्यस्तै नेपाल रेडक्रस सोसाईटी सुर्खेत शाखाका सभापति रामलाल आचार्यले आँखाप्रति संवेदनशील बन्न बिद्यालयहरुले भर्नाकै समयमा बालबालिकाको आँखा परीक्षण गरेको रिपोर्ट माग्न समेत अब ढिलाई गर्न नहुने बताए ।
उनले बालबालिकामा बढ्दो दृृष्टि सम्बन्धि समस्या निवारणका लागि विद्यार्थीसँगै अभिभावकमा सचेतना फैलाउन समुदायस्तरमै प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए ।