सुर्खेतमा धमाधम लालपुर्जा वितरण

सुर्खेतमा । सुर्खेतमा भूमिहीन सुकुम्वासीलाई धमाधम लालपुर्जा वितरण गर्ने कार्यले तीव्रता पाएको छ ।

भूमिसम्बन्धी समस्या समाधान आयोग र सम्बन्धित स्थानीय तहले लामो समयपछि प्रक्रिया पु¥याएर धनीपुर्जा वितरण थालेका छन् । शुक्रबार लेकबेशी नगरपालिका–४ नम्वर वडाका २१ र भेरीगंगा नगरपालिका–६,७ र ८ नम्वर वडाका २ सय ५ वटा परिवारलाई धनीपुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।

वर्षाैंदेखि भूमिविहीन रहेका सर्वसाधारण धनीपुर्जा पाउँदा दङ्ग भएका छन् ।  लेकबेशी नगरपालिका–४, का अव्यवस्थित बसोवासी ८३ वर्षीया धनबहादुर सार्कीले जीवनको यो उमेरमा आफू जग्गाधनी भएकामा हर्ष व्यक्त गरे । ‘उमेर बित्न लागे पनि भूमिविहीन भएर मर्नुपरेन,’ उनले भने, ‘जमिन आफ्नो नहुँदा सयौं हन्डरठक्कर खाइयो, यो बेला आएर कागज समात्न पाइयो ।’

लेकबेशी नगरपालिका प्रमुख उमेशकुमार पौडेलले लामो समयदेखिको प्रतीक्षा, धैर्य र अथक प्रयासपछि सर्वसाधारणलाई भूमिसम्बन्धी अधिकार सुनिश्चित गर्ने दिशामा यो ऐतिहासिक कदम भएको बताए । ‘लालपुर्जा केबल कागजात वितरणमा सीमित नभई समाजमा न्याय, समावेशिता र सम्मानजनक जीवन सुनिश्चित गर्ने दिशातर्फको ठोस कदम पनि हो,’ उनले भने ।

भूमिसम्बन्धी आयोग पटक–पटक गठन हुँदा पनि लेकबेशीका केही परिवार धनीपुर्जा वितरण गर्ने चरणमा पुग्न पाएका थिएनन् । यस पटक अघिका आयोगहरुले गरिरहेकै कामलाई निरन्तरता दिएर धनीपुर्जा वितरण गरिएको हो । ‘निकै मेहनत र परिश्रम गरेपछि आयोग र पालिकाको काममा नतिजा आएको छ,’ भेरीगंगा नगरपालिकाका मेयर यज्ञप्रसाद ढकालले भने, ‘प्रक्रिया पुगेका सबैको धनीपुर्जा वितरण गरिनेछ ।’

भेरीगंगा नगरपालिकामा अब बाँकी रहेका करिब ७ हजार परिवारको जग्गा अधुरो–अपुरो भएपनि बाँकीलाई प्रक्रियामा लगेर लालपुर्जा वितरण गरिने उनले जनाए । यसअघिका अपुरा काम आयोगको सहयोगमा काम जारी राखिएको पनि उनले बताए । भूमि समस्या समाधान आयोग सुर्खेतका अध्यक्ष केशरहादुर ओलीले जग्गाधनी पूर्जा वितरणलाई तिव्र पारिएको बताए ।

केहीदिन अघि पश्चिम सुर्खेतको चौकुने र बराहताल गाउँपालिकामा पूर्जा वितरण गरिएको उनले जानकारी दिए । ‘वर्षाैंदेखि भूमि समस्या खेपिरहेका सर्वसाधारण लामो प्रतीक्षापछि धनीपुर्जा पाउँदा खुसी छन्,’ आयोग सुर्खेतका विज्ञ सदस्य तुलबहादुर सहकारी भने, ‘हामी सकेसम्म चुस्त हुनेगरी काम गरिरहेका छौं ।’

भूमि सम्बन्धि ऐन चाडै संशोधन हुन्छ : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले भूमि सम्वन्धी ऐन संशोधनको प्रक्रियामा रहेको बताएका छन् । शुक्रबार सुर्खेतको लेकबेशी नगरपालिका र भेरीगंगा नगरपालिकाका भूमिहिनलाई लालपुर्जा वितरण गर्दैैैै उनले भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबास गरिरहेकाहरुको समस्या समाधानका लागि वर्तमान सरकार गम्भीर रहेको जनाएका हुन् ।

उनले चाडै दलहरु वीच छलफल गरी भूमि सम्बन्धि ऐन संशोधन गरिने समेत जानकारी दिए । वर्तमान सरकारले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रीत गरेको पनि बताए । उनले भूमिको अधिकतम् उपयोग गर्ने, विशेष गरी व्यावसायिक खेती गरेर आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन आवश्यक भएकोमा जोड दिए ।

जनतामा निराशा भन्दापनि जनप्रतिनिधिसँग असन्तुष्टि रहेको बताउँदै उनले जनताको कुडिएका मनलाई मलहम लगाउन आवश्यक रहेको औल्याए । ‘मत माग्दा भ्रमित हुनेगरी घोषणा पत्र बनाउने तर पछि काम नगर्ने चलनले मतदाता रिसाउने गरेका छन्,’ उनले भने, ‘सेवाग्राही र मतदाताको अपेक्षा अनुरुप मन जित्ने गरी काम गर्न जनप्रतिनिधिहरु अग्रसर हुनु पर्दछ ।’

अहिलेको गठबन्धन सरकार आगामी निर्वाचनसम्म कायम रहने दावी गर्दै उनले प्रमुख दुई दल मिल्दा अहिले देशमा राजनीतिक स्थिरता कायम भएको जनाए । वर्तमान गठबन्धनले नै आगामी २०८४ को निर्वाचन गराउँने भन्र्दै उपसभापति खड्काले आफू उपप्रधानमन्त्री हुँदा लालपूर्जा लिनका लागि यसअघि तिर्नुपर्ने दुई सय प्रतिशतसम्मको राजश्वलाई पाँचदेखि १० प्रतिशतसम्म झारेको समेत स्मरण गरे ।

Translate »