२०८३ साउन ३० , शनिबार
Sky News Nepal
August 16, 2026

बिर्सिएको अमुल्य वनस्पति ‘सिस्नु’



मुगु । ग्रामीण भेगमा सजिलै पाइने तर अहिले प्रायः बेवास्ता भएको वनस्पति हो, सिस्नु । एक समय ग्रामीण भान्सामा अनिवार्य परिकारकारुपमा प्रयोग हुने सिस्नु अहिले भने प्रयोगमा कमी आएर झाडीमै ओइलिइरहेको छ ।

विशेषगरी जाडो याममा सिस्नुको तरकारी, अचार तथा सूप ग्रामीण जनजीवनमा पोषणयुक्त आहार मानिन्थ्यो । सिस्नुमा हुने प्रोटिन, क्याल्सियम, आइरन, भिटामिन ए, सी, के लगायतका तत्वले स्वास्थ्यलाई लाभ दिने वैज्ञानिक प्रमाण समेत छन् । रक्तअल्पता, जोर्नी दुखाइ, पेटका समस्या, चर्मरोग लगायतका रोगमा यसको प्रयोग लाभदायी हुने आयुर्वेदिक मान्यता छ ।

पहिले सबैभन्दा बढी खानपानकोरुपमा प्रयोग हुने सिस्नो आधुनिकतासँगै आयातित खानाको प्रभाव र सजिलो भोजनतर्फको मोहका कारण अहिले धेरै गाउँमा सिस्नु खाने परम्परा हराउँदै गएको छ । गाउँमा बालबालिकाले समेत ‘सिस्नु चिलाउने मात्र बोट हो, खान लायक हुँदैन’ भन्ने बुझाइ गर्न थालेका छन् ।

यद्यपि ! अन्तर्राष्ट्रिय बजारमा भने सिस्नुको माग उच्च छ । विशेषगरी सिस्नु पाउडर, सूप, क्याप्सुल र चिया को रुपमा विदेशमा यसको मूल्य अत्यन्तै महँगो पर्छ । नेपालकै विभिन्न स्थानबाट संकनल गरी काठमाडौं हुँदै भारत, युरोप र अमेरिकासम्म निर्यात हुने गरेको व्यवसायीहरुको भनाइ छ।

स्थानीयस्तरमा प्रयोग नभए पनि यसमा रोजगारी र आम्दानीको ठूलो सम्भावना रहेको कृषि विज्ञहरु बताउँछन् । ‘सिस्नु झाडीमा खेर जाने होइन, खेती योग्य अमूल्य वनस्पति हो,’ मुगुका शिक्षक तथा कृषक रङ्गबहादुर कार्कीले भने ।’

नेपालमा मात्रै होइन, विश्वमै यसको माग बढ्दै गएको हुँदा उचित संरक्षण, व्यावसायिक खेती र प्रशोधन गर्न सके सिस्नु नेपाली कृषकका लागि सुनको खानी सावित हुनसक्ने देखिन्छ । हाल मुगुका गाउँ बस्तीमा हुने सिस्नु प्रयोग विहीन भई झाडीको रुपमा परिणत भई हिउँद ऋतुमा सुकेर त्यसै खेर जाने गरेको छ ।

जिल्लामा दिन प्रतिदिन बेरोजगारीको सङ्ख्या बढ्दै गएको अवस्था छ । यसलाई उद्योग धन्दाको माध्यमबाट प्रशोधन र प्याकेटिङका साथै बजारीकरण गर्न सके स्थानीय स्तरमै सामान्य रोजगारी सृजना हुन सक्ने विज्ञहरु बताउँछन् ।

प्रकाशित मिति : २०८२ भदौ २२ गते आइतबार
Translate »