जेनजी आन्दोलन र दशैँ बिदाका कारण कारोबारमा असर


काठमाडौं । चालू आर्थिक वर्षको शुरूदेखि अधिकांश स्थानीय तहमा जग्गा कित्ताकाट रोकिएपछि प्रभावित भएको घरजग्गा कारोबार जेनजी आन्दोलन र दशैं बिदाका कारण पछिल्लो २ महीना झन् घटेको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार कारोबारमा उल्लेख्य कमी आएको छ । साउनमा १ लाख ४ हजार २१८ ओटा कारोबार भएकोमा भदौमा घटेर १ लाख २ हजार ७१ कायम भएको छ ।
भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा धेरै मालपोत कार्यालय निशाना बनेका थिए । असोजमा लामो दशैँ बिदा पर्यो । फलस्वरूप असोजमा घरजग्गा कारोबार थप घटेर कुल ७९ हजार ७३६ मा सीमित भयो ।
कारोबार घटेपछि सरकारले यसबाट गर्ने आम्दानी प्रभावित भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउनमा ३ अर्ब २८ करोड र भदौमा ३ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । असोजमा आइपुग्दा घरजग्गा कारोबारको राजस्व २ अर्ब ७५ करोड रुपैयाँमा सीमित भएको छ ।
घरजग्गा व्यवसायी महासंघका अध्यक्ष विष्णु घिमिरे जेनजी आन्दोलनका क्रममा मालपोत कार्यालयहरू जल्दा कारोबारमा असर परेको बताउँछन् । उनी घरजग्गा कारोबार घट्नुको मूल कारण भने कित्ताकाट रोकिनुलाई मान्छन् ।

घिमिरेका अनुसार साउनदेखि ५०० भन्दा बढी पालिकामा जग्गा कित्ताकाट बन्द छ । साउनयता ती पालिकाहरूमा कारोबार हुन सकेको छैन । त्यसको असर घरजग्गा कारोबारमा चालू आर्थिक वर्ष ९आव० को शुरूदेखि नै देखिएको उनले बताए । स्थानीय तहले जग्गा वर्गीकरण नगरेको भन्दै अघिल्लो सरकारले त्यस्ता स्थानीय तहमा जग्गा कित्ताकाट रोकेको थियो ।
भू–उपयोग नियमावलीले नेपालको सम्पूर्ण भू–भागलाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी–खोला–ताल–सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व र सरकारद्वारा तोकिएका अन्य क्षेत्र गरी १० श्रेणीमा वर्गीकरण गर्नुपर्छ ।
गत आवको अन्त्यसम्म वर्गीकरण गनुपर्ने मिति तोकिए पनि झन्डै ५०० स्थानीय तहले जग्गा वर्गीकरण गरेका थिएनन् । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री अनिलकुमार सिन्हाले गत महीना पदभार ग्रहण गर्दै भू–उपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । जग्गाको वर्गीकरण नगरेका स्थानीय तहलाई उक्त कामका लागि पुनः १ वर्ष म्याद थप्ने तयारीस्वरूप नियमावली संशोधन गर्न लागिएको मन्त्रालयका उपसचिव दामोदर वाग्लेले यसअघि आर्थिक अभियानलाई बताएका थिए ।
कित्ताकाट रोकिएको बेला अझ जेनजी आन्दोलन भएकाले अलिअलि भएको कारोबारमा समेत धक्का पुगेको घिमिरे बताउँछन् । त्यसपछि असोजमा दशैं बिदा भयो । ‘असोज र कात्तिक घरजग्गा कारोबारको लागि विशेष समय मानिन्छ । तर, यो समयमै कारोबार प्रभावित भएको छ,’ घिमिरेले भने । (आर्थिक अभियान)

