रामघाटमा विमानस्थल !

सामान्य बुझाईमा कर्णाली प्रदेशको भूवनावट नै विकट मानिन्छ । किनभने कर्णाली प्रदेशका अधिकांस क्षेत्र ठूला–ठूला हिमाल तथा पहाडले ढाकिएकाले पूर्वाधार विकासका लागि असहज मानिएका हुन् । तर, यहाँको सम्भावना र प्राकृति स्रोतसाधनको उपयोगिताका बारेमा गहन चिन्तन, मन्थन नगरिएका कारण अपेक्षाकृत विकास हुन नसकेको तीतो सत्यलाई अस्वीकार पनि त गर्न सकिदैन् । विकास नागरिकको आवश्यकतामा आधारित हुनु पर्दछ । कतिपय अवस्थामा तत्कालिन र दिर्घकालिन जरुरतको एकिन नगरी गरिने विकासले फाइदा भन्दा घाटा समेत हुने गरेका छन् । हवाई उड्डयनकै हिसावले हेर्ने भने कर्णालीका दश जिल्ला मध्य जाजरकोट, दैलेख र सल्यान बाहेक सबै जिल्लामा विमानस्थलहरु निर्माण भएका छन् । यद्यपि ! ती विमानस्थलहरु आर्थिक हिसावले कति उपयोगी हुन वा होइनन् त्यो भने राजनीतिक तथा नागरिक स्तरबाट सोचनिय विषय हो ।  पछिल्लो समय नेपाल नागरिक उड्डयन प्राधिकरणले वीरेन्द्रनगरका उपरान्त ‘सुर्खेत भेरीगंगा–रामघाट’ प्रादेशिक विमानस्थललाई कार्यान्वयनको तहमा लैजान लागेको छ । विमानस्थल निर्माण पूर्वको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) अध्ययन प्रतिवेदनलाई अहिले अन्तिमरुप दिन लागिएको छ ।

प्राधिकरणले आयोजना कार्यान्वयन गर्दा प्रभावित क्षेत्रमा पर्नसक्ने सकारात्मक र नकारात्मक प्रभावका सम्बन्धमा अध्ययन गरी २१ भदौ २०८२ मा ईआइए प्रतिवेदन सार्वजनिक गरेको थियो । प्राधिकरणको प्रतिवेदनअनुसार २ सय १८ दशमलव २६ हेक्टर क्षेत्रफलमा फैलने विमानस्थका कारण भेरीगंगा नगरपालिका वडा नम्बर ९, १० र ११ का बासिन्दा प्रभावित हुनेछन् । विमानस्थल समुद्री सतहबाट करिब ६ सय २८ मिटर उँचाइमा रहनेछ । अन्तराष्ट्रिय मापदण्डअनुसार पूर्व–पश्चिम फैलिने धावनमार्गको लम्बाई २ हजार ७ सय ९० मिटर र चौडाई ४ सय ४५ मिटर रहने छ । विमानस्थलमा एटिआर–७२, सिआरजे–७००, ड्यासक्यू–४००, ए–३२०, बी–७३७ मोडेलका एक सय ५० सिटर र सो सरहका जहाजहरु उडान र अवतर गर्न सकिने छ । यससँगै ट्याक्सीवे, ह्याङ्गर, कन्ट्रोल टावर, इन्धन भण्डारण, कार्गो भवन, प्रहरी चौकी, पार्किङ स्थल र सुरक्षा चौकीलगायतका संरचना पनि बन्नेछन् । एप्रोनमा एकैपटक १७ विमान अट्ने क्षमता रहने छ, भने २४ हजार तीन सय ७५ वर्गमिटरमा टर्मिनल भवन निर्माण हुने छ । विमानस्थल सञ्चालनमा आएको खण्डमा दैनिक ११ उडान हुने र करिब ३ सय ७४ यात्रु ओसारपसार गर्न सकिने गरी विमानस्थलको डिजाइन गरिएको छ । कुल १६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको विमानस्थललाई पाँच वर्षभित्र पूर्णता दिने लक्ष्य राखिएको छ ।

प्रदेश राजधानी सुर्खेतसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लालाई संघीय राजधानीसँग हवाई सेवामा जोडिएपछि यस क्षेत्रको व्यापार, पर्यटन र कृषि उत्पादनको बजार विस्तार गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ । यसका वावजुद पनि सुर्खेतकै वीरेन्द्रनगरमा सञ्चालनमा रहेको विमानस्थलको स्तरोन्नती नगरी अर्को विमानस्थल निर्माण गर्नुले यहाँको नागरिकस्तरमा विवाद तथा प्रतिवाद उत्पन्न भएका छन् । भन्न त ! सुर्खेत विमानस्थलमा इन्धन डिपोको अभावसँगै स्तरोन्नतीका लागि ठूलो धनराशि खर्च हुनुका साथै एप्रोचमार्ग सीमित रहेकाले वैकल्पिक विमानस्थल आवश्यक भएको भनिएको छ । त्यति मात्र होइन, सुर्खेत विमानस्थल उत्तर–दक्षिण हुनुका साथै धावनमार्गको उत्तरी भाग नजिक पहाडी क्षेत्र रहेकाले दुईतर्फी उडान तथा अवतरणमा समस्या हुँदा उडान प्रायः अनियमित र अवरुद्ध हुने गरेको गुनासो पुरानै हो । यसका वावजुद सञ्चालनमा रहेको विमानस्थलाई स्तरोन्नती नगरी अहिले नै किन प्रादेशिक बनाउनु परेको भन्नेहरु पनि छन् । प्रदेश राजधानीको भविष्यमा विस्तार गर्न मिल्ने गरी प्रादेशिक स्तरको विमानस्थल निर्माण अहिले नै आवश्यक हो या होइन, त्यो भन्ने कुरा समयले बताउँला । फेरीपनि विकास आवश्यकतामा आधारित हुनु पर्दछ । मानव संसाधनको विकास नभई भौतिक संसाधनको विकास पर्याप्त हुँदैन् ।

Translate »