कर्णालीमा कृषि बालीले ढाकेको भूमि घट्यो

सुर्खेत । कर्णाली प्रदेशको समग्र कृषि बालीले ढाकेको भूक्षेत्र घटेको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा कर्णाली प्रदेशको समग्र कृषि बालीले ढाकेको भूक्षेत्र अघिल्लो वर्षको तुलनामा ६ दशमलव शून्य आठ प्रतिशतले घटेको हो ।

समीक्षा वर्षमा प्रमुख खाद्य बालीमध्ये धान, मकै, गहुँ, कोदो र जौंले ढाकेको क्षेत्रफलमा क्रमशः पाँच दशमलव ११ प्रतिशत, चार दशमलव १६ प्रतिशत, चार दशमलव ८६ प्रतिशत, ११ दशमलव ५२ प्रतिशत र एक दशमलव ३९ प्रतिशतले घटेको छ ।

त्यसैगरी, तरकारी तथा बागबानी बालीले ढाकेको क्षेत्रफलमा १४ दशमलव ९१ प्रतिशतले ह्रास आएको छभने फलफूल बालीले ढाकेको क्षेत्रफल दुई दशमलव ४० प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा कर्णालीमा समग्र कृषि बालीको उत्पादन अघिल्लो वर्षको तुलनामा पाँच दशमलव शून्य एक प्रतिशतले घटेको हो । जसअन्तर्गत खाद्य, नगदे तथा अन्य बालीको उत्पादन तीन दशमलव ९५ प्रतिशतले घटेको छ ।

समीक्षा वर्षमा प्रमुख खाद्य बालीमध्ये धान १० दशमलव २५, गहुँ १७ दशमलव ३१, कोदो २२ दशमलव ९२ र जौंको उत्पादन आठ दशमलव ५५ प्रतिशतले घटेको छ भने मकैको उत्पादन चार दशमलव २४ प्रतिशतले बढेको हो । आव २०८१÷८२ को असार मसान्तसम्ममा तरकारी उत्पादन र फलफूलखेतीको उत्पादन क्रमशः शून्य दशमलव ८८ र ३६ दशमलव ४१ प्रतिशतले घटेको छ ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जा कुल कर्जाको आठ दशमलव शून्य दुई प्रतिशत हिस्सा ओगटेको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाबाट प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जा गत वर्षको तुलनामा सात दशमलव ७० प्रतिशतले कम हो ।

Translate »