अर्गानिक कर्णाली !


रासायनिक मलको बढ्दो प्रयोगले कर्णालीलाई अर्गानिक प्रदेश बनाउने चुनौती थपिएको छ । कर्णाली सरकारले प्रदेशलाई अर्गानिक उत्पादनको ‘हब’ बनाउन विभिन्न कार्यक्रम र योजना ल्याएपनि कार्यान्वयन पाटो कमजोर हुँदा चुनौतीहरु वर्षेनी थपिदै गएका छन् । कृषि आधुनिकीकरणका नाममा विभिन्न निकायबाट भएको स्थानीय बिउहरुलाई विस्थापन गर्ने गरी गरिएको हाइब्रिड बिउविजनको प्रवद्र्धनले रसायनिक मलको प्रयोग बढाउन सहयोगी भूमिका खेलेको पाईन्छ । त्यसैमा बढ्दो जनसंख्या र सहरीकरणले गर्दा साघुरिँदै गएको कृषियोग्य जमिनमा धेरै उत्पादन गर्नुपर्ने आवश्कताले पनि रासायनिक मलको प्रयोगमा बढोत्तरी हुँदै गएको मान्न सकिन्छ । आधुनिक कृषिका लागि यान्त्रिकरणको बढ्दो प्रयोगले उत्पादन बढेसँगै कर्णालीका किसान माझ रासायनिक मल प्रयोगप्रतिको लगाव र विश्वास बढ्नु स्वाभाविकै हो । पछिल्लो समय आधुनिक कृषि प्रणालीमा आएको परिवर्तनमा कर्णाली अछुतो रहन सक्ने अवस्था कम देखिन्छ । प्रयोगमा सरलता, प्रयोग गरेपछि खेतीबालीमा छिटो देखिने परिवर्तन र यसले ल्याएको उत्पादकत्व वृद्धिले रासायनिक मल प्रतिको लगाव बढ्दै गएको छ ।

बर्षौंदेखि खेतीबारीमा प्रयोग हुने गोबरे मल भन्दा रासायनिक मल प्रतिको आस्था समयसँगै बढ्दै गएको देखिन्छ । बोक्न र प्रयोग गर्न धेरै मानिसको आवश्यकता पर्ने, गाईगोरुको सट्टा ट्याकटरको बढ्दो प्रयोगले गर्दा गाउँघरमा गाईवस्तुको पालनमा कमी र राम्रोसँग नपाकेको मल प्रयोग गर्दा यसले बालीमा देखा पार्ने विभिन्न समस्याका कारण पनि कृषिमा घरायसी रुपमा बनाइने जैविक मलको प्रयोगमा कमी आईरहेको देखिन्छ ।गाउँघरमै प्राङ्गारिक मल पाइने भएपनि बारीमा त्यसको प्रयोग न्यून हुँदै गएको छ । किनभने रासायनिक मल प्रयोग गर्दा उत्पादन बढ्ने विश्वासका कारण प्राङ्गारिक मलको प्रयोगमा कमी आउँदै गएको हो । किनभने तरकारीमा रोग तथा कीरा नष्ट गर्न र उत्पादन बढाउन रासायनिक विषादी प्रयोग गर्नुपर्ने बाध्यता अहिले किसानसँग छ । यता प्रदेशका सरकारका अधिकारीहरुले रासायनिक मलको प्रयोगमा कमी आउँदै गएको दाबी गरेपनि प्राङ्गारिक मल प्रयोगको अवस्थाबारे यकिन तथ्याङ्क छैन । बजेट र कार्यक्रममा अर्गानिक उत्पादनको विषयवस्तुले प्राथमिकता पाएपनि त्यो व्यवहारमा कार्यान्वन भएको छैन् । अहिलेपनि प्रदेशका अधिकांश जिल्लामा व्यवसायिक कृषि उत्पादनका लागि रासायनिक मलको माग बढ्दो छ । गएको वर्ष सुर्खेतमा मात्रै सात हजार बढी मेट्रिकटन रासायनिक मल खपत भएको छ । यो वर्ष पनि मागअनुसार आपूर्ति नहुँदा धेरै किसानले रासायनिक मल पाउन नसकेको गुनासो थियो ।
प्रदेश सरकारको नीति रासायनिक मलको प्रयोग न्यूनीकरण गर्ने भएपनि त्यसअनुसार विकल्पको खोजी भने हुन सकेको देखिदैन् । अर्गानिक खेतीका लागि आवश्यक जैविक मल, बीउ र विषादीको अभाव छ । अनुसन्धान, अध्ययन र बजार व्यवस्थापन कमजोर छन् । राष्ट्रिय कृषि गणना २०७८ अनुसार कर्णालीमा तीन लाख दुई हजार परिवार कृषिमा निर्भर छन् । तर ३० प्रतिशत अर्थात् करिब ९० हजार परिवार मात्रै आत्मनिर्भर छन् । बाँकी अझै खाद्यान्नको अभावमा छन् । ६ फागुन २०७४ मा बसेको कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले कर्णालीलाई अर्गानिक प्रदेश बनाउने ऐतिहासिक घोषणा गरेको थियो । घोषणा भव्य थियो, आशा उच्च थियो, तर ८ वर्षपछि पनि त्यसको परिणाम भने निराशाजनक छ । प्रदेशको प्राकृतिक भूपरिवेश, माटो र परम्परागत खेती प्रणालीले कर्णालीलाई अर्गानिक उत्पादनको केन्द्र बन्ने अवसर दिएको छ । तर व्यवहारमा रासायनिक मल र विषादीको बढ्दो प्रयोगले यो पहिचानलाई धमिल्याइरहेको छ । सरकारी संयन्त्र स्वयं रोगकिराको दबाबमा रासायनिक विषादी सिफारिस गर्न बाध्य छन् । त्यसैले अब अर्गानिक अभियान घोषणामा होइन, व्यवहारमा जानुपर्छ ।

