साना भारु नोट जति पनि भारत लैजान पाइने

काठमाडौं । नेपाली र भारतीय नागरिकले भारतीय रुपया १०० भन्दा कम दरका बैंक नोट र कुनै पनि दरका नेपाली मुद्रा असीमित रुपमा भारत लैजान पाउने सरकारले स्पष्ट पारेको छ ।

तर, सन् २०१६ नोभेम्बर ९ पछि निष्कासन भई चलनचल्तीमा रहेका भारु २०० र ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपया २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान सक्ने सरकारले राजपत्रमा सूचना प्रकाशित गरी उल्लेख गरेको छ । यसअघि धेरै नेपालीहरुमा सबै दरको भारतीय रुपया बोक्न पाइने सीमा २५ हजार भारु भएको भ्रम थियो ।

२०१६ नोभेम्बर ९ भारत सरकारले भारु ५०० र १००० दरको नोट नचल्ने गरी नोटबन्दी घोषणा गरेको थियो । सूचनाअनुसार कसैले पनि सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपया ५०० र १००० दरका नोटको कारोबार गर्न पाइने छैन । नेपाली मुद्राको हकमा नेपाल राष्ट्र बैंकले तोकिदिएको सीमाभन्दा बढी र भारतीय मुद्राको हकमा भारतबाहेक अन्य मुलुकमा लैजान वा पठाउन पाइने छैन । विदेशी विनिमय सटही कारोबार गर्ने इजाजतपत्रप्राप्त व्यक्ति वा संस्थाबाट कानूनबमोजिम प्राप्त गरेको विदेशी मुद्रा नेपालबाट बाहिर लैजान वा पठाउन पाइनेछ ।

विदेशी नागरिकको हकमा नेपाल राष्ट्र बैंकले तोकिदिएको सीमाभन्दा बढी विदेशी मुद्रा लैजान वा पठाउन परेमा निजले नेपाल प्रवेश गर्दा आफूसँग ल्याएको नगद विदेशी मुद्राको हकमा त्यस्तो विदेशी मुद्राको रकम भन्सार अधिकृतसमक्ष घोषणा र प्रमाणित गरेको हुनु पर्नेछ

Translate »