कर्णालीमा ठूलो अलैंची खेतीलाई फैलाउन सकिने सम्भावना

सुर्खेत । पूर्वी नेपालका जिल्लाहरुमा सीमित ठूलो अलैंची खेतीलाई कर्णालीमा पनि विस्तार गर्न सकिने सम्भावना रहेको एक अध्ययनले देखाएको छ ।

संयुक्त राष्ट्रसंघीय निकाय खाद्य र कृषि संगठनको सहयोगमा काठमाडौंको किङ्स कलेज नेपालले २२ महीना लगाएर गरेको अध्ययनले यस्तो सम्भावना उजागर गरेको हो । हाल अलैंची खेती पूर्वी नेपालका तेह्रथुम, पाँचथर, इलाम, संखुवासभा, भोजपुर, सोलुखुम्बुलगायत जिल्लामा केन्द्रित छ ।

यो अध्ययनअनुसार पश्चिम नेपालका कर्णालीसँगै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका जिल्लामा समेत ठूलो अलैंची खेतीको सम्भावना प्रचुर छ । सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम र कालिकोटलगायत जिल्लामा अलैंची खेतीको सम्भावना राम्रो देखिएको किङ्स कलेजका एग्री बिजनेश टीमका संयोजक सन्देश पौडेलले बताए ।

उनका अनुसार दैलेख, सल्यान र सुर्खेतको छिमेकी जिल्ला अछाममा थोरै मात्रामा अलैंंची उत्पादन गरिएपनि व्यावसायिक हुन सकेको छैन् । पश्चिम नेपालमा समेत ठूलो अलैंची खेतीको व्यावसायिक विस्तार गर्न सकेमा नेपालले त्यसको निर्यात व्यापारबाट राम्रो आम्दानी गर्न सक्ने सम्भावना रहेको उनले बताए ।

घरेलु बजारमा ठूलो अलैंचीको प्रयोग र जनचेतना अत्यन्तै न्यून छ । त्यसैले आन्तरिक खपत बढाउने, प्रशोधित तथा मूल्य अभिवृद्धि भएका उत्पादन प्रवद्र्धन गर्ने र अन्तरराष्ट्रिय बजार विविधीकरण गर्ने रणनीति आवश्यक देखिएका छन् ।

५२ प्रकारका उत्पादनमा ठूलो अलैंचीको प्रयोग

अध्ययनले ठूलो अलैंचीको प्रयोग ५२ भन्दा बढी उत्पादनमा प्रयोग हुने गरेको उल्लेख गरेको छ । मसला र औषधिबाहेक यसलाई साबुन, स्याम्पु, परफ्युम, क्यान्डल र सौन्दर्य सामग्रीसहित ५२ ओटा वस्तुको उत्पादनमा समेत ठूलो अलैंची प्रयोग गर्न सकिने अध्ययनले देखाएको छ ।

पौडेलका अनुसार ठूलो अलैंचीको सम्भावना व्यापक भएपनि नेपालमा यस्ता प्रयोगहरु नदेखाइएको र अध्ययनको अभावका कारण अन्तरराष्ट्रिय बजारमा अलैंचीको मूल्य सीमित भएको छ ।

अलैंची मसलाजन्य समूहको तेस्रो मूल्यवान् बाली

अलैंची मसलाजन्य समूहको तेस्रो मूल्यवान् बाली पनि हो । अलैंचीका लागि ७ सय मिटरदेखि २२ सय मिटरको उचाइ, ८ देखि २० सेन्टिग्रेटको तापक्रम, १५ सयदेखि २५ सय मिलिमिटरसम्मको वर्षा, ओरालो, ओसिलो र मलिलो माटो अलैंचीका लागि उपयुक्त मानिन्छ ।

खोल्सा–खोल्सी, सिम, खर–ख¥यान, बारीको डिलमा मात्र होइन; चाँप, कटुस, चिलाउनेको रुखमुनि समेत उत्पादन गर्न सकिने अलैंचीलाई खोल्साको सुन अथवा कालो सुनका रुपमा पनि अथ्र्याउने गरिन्छ । भोजन स्वादिष्ट बनाउन, सुगन्धित सामग्री तयार गर्न, विभिन्न प्रकारका रसायन तथा औषधि तयार गर्न उपयोगमा आउने अलैंची मसलाको रानी अर्थात् ‘क्विन अफ स्पाइस’ को नामले प्रख्यात छ ।

अलैंचीको मूल थलो सिक्किम

अलैंची रङ, आकार र प्रयोगका आधारमा ठूलो र सानो गरी मूलतः दुई प्रकारको हुन्छ । तीमध्ये नेपालमा ठूलो अलैंची अर्थात् ब्ल्याक कार्डमम मात्र उत्पादन हुन्छ । ठूलो अलैंचीले विश्व बजारमा नेपाली अलैंचीको नामले पहिचान बनाएको छ ।

ठूलो अलैंचीको मूल थलो भने सिक्किम हो । वि.सं. १९७६ बाट नेपालमा अलैंची रोप्न थालिएको भए तापनि २०१५ बाट मात्र व्यावसायिक उत्पादन हुन थालेको हो । अलैंचीको उत्पादन वृृद्धि र निर्यात प्रवद्र्धनका लागि वि.सं. २०३२ मा अलैंची विकास केन्द्र स्थापना भएको थियो ।

नेपालको एकल हिस्सा ६८ प्रतिशत

ठूलो अलैंची नेपालबाहेक भारत, भुटान, श्रीलंका, मलेसिया र ग्वाटेमालामा मात्र उत्पादन हुन्छ । तथापि अलैंची उत्पादनमा नेपालले सबै मुलुकलाई पछाडि पारेको छ । विश्वको कुल उत्पादनमा नेपालको एकल हिस्सा ६८ प्रतिशत हुँदा भारतले २२ प्रतिशत र भुटानले ९ प्रतिशतमा चित्त बुझाउनुपरेको थियो ।

उत्पादित अलैंचीको ९८ प्रतिशत निर्यात भइरहेकोमा त्यसको ८० प्रतिशत भारत केन्द्रित छ । २० प्रतिशत हिस्सा मात्र दक्षिण एसिया, मध्यपूर्व, युरोपमा हुने गरेको छ । यस हिसाबले अलैंचीको देशगत विविधीकरण कमजोर छ ।

Translate »