२०८३ भदौ ७ , आइतबार
Sky News Nepal
August 23, 2026

कर्णालीमा एमालेका ७५ प्रतिशत नयाँ उम्मेदवार



काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कर्णालीमा नेकपा एमालेले ७५ प्रतिशत नयाँ उम्मेदवारलाई अघि सारेको छ ।

पार्टीको केन्द्रिय कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा नेकपा (एमाले) ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि यस पटकको निर्वाचनमा एमालेले अगाडि सारेको उम्मेदवारमध्ये ५४ दशमलव ५४ प्रतिशत नयाँ रहेको जानकारी दिएको हो ।

पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत उम्मेदवारले नेता, कार्यकर्ता र जनताको उत्साहपूर्ण सहभागितामा आ–आफ्नो उम्मेदवारी दर्ता गराएको जानकारी दिए ।  उनका अनुसार नेकपा (एमाले) ले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ ।

‘यस पटकको निर्वाचनमा एमालेले अगाडि सारेको उम्मेदवारमध्ये ५४ दशमलव ५४ प्रतिशत नयाँ छन्,’ उनले भने, ‘तीमध्ये मधेस र सुदूरपश्चिम प्रदेशमा ५०÷५० प्रतिशत र कोशीमा ५३ दशमलव ५७ प्रतिशत उम्मेदवार नयाँ छन् ।’ उनले सबैभन्दा धेरै नयाँ उम्मेदवार कर्णाली प्रदेशमा ७५ प्रतिशत र कम लुम्बिनीमा ४२ दशमलव ३० प्रतिशत रहेको जनाए ।

उनका अनुसार बागमती ६० दशमलव ६० र गण्डकीमा ६१ दशमलव ११ प्रतिशत नयाँ उम्मेदवार रहेका छन् । १० वटा जिल्ला रहेको कर्णालीमा १२ वटै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दर्ता गराएको एमालेले दुई निर्वाचन क्षेत्र रहेको सुर्खेत–१ बाट ध्रुवकुमार शाही र सुर्खेत–२, बाट कुलमणि देवकोटालाई उम्मेदवार बनाएको छ ।

यस्तै, सल्यानबाट गुलाबजंग शाह, रुकुम पश्चिमबाट नन्दराम देवकोटालाई उम्मेदवार बनाएको हो । कालिकोटबाट नगेन्द्र शाही, जुम्लाबाट शान्तिलाल महत, मुगुबाट पूर्णबहादुर रोकाया, हुम्लाबाट दल फडेरा र डोल्पाबाट लंक रोकायाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, दुई निर्वाचन क्षेत्र रहेको दैलेख–१ बाट रवीन्द्रराज शर्मा र दैलेख–२ बाट लक्ष्मी पोखरेल तथा जाजरकोटबाट डम्बरबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रकाशित मिति : २०८२ माघ ७ गते बुधबार
Translate »